राजविराज–१० को विरौलमा निर्माण गर्ने भनिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको गत बुधबार दोस्रो पटक शिलान्यास गरिएको छ ।
जनमत पार्टीका अध्यक्ष तथा सप्तरी क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य डा. सि.के. राउतले एक समारोहका बीच बुधबार शिलान्यास गरेका हुन् । यस अघि केपी शर्मा ओलीले अघिल्लो प्रधानमन्त्रीत्वकालमा भर्चुअल माध्यमबाट प्रतिष्ठानको भवन निर्माणको शिलान्यास गरेका थिए । २०७८ साल असार २२ गते तत्कालिन प्रधानमन्त्री ओलीले शिलान्यास गरे पनि प्रतिष्ठानको भौतिक संरचना निर्माण कार्य अघि बढ्न नसकिरहेको अवस्थामा यो दोस्रो पटक शिलान्यास भएको छ । सप्तरीको विकासमा गति ल्याउने अपेक्षा गरिएको यो प्रतिष्ठान राजविराजमा स्थापना हुने खबरले एक समय निकै उत्साह बढाएकै हो । तत्कालीन उप–प्रधान तथा स्वास्थ्य मन्त्री एवम् जनता समाजवादी पार्टीका उपेन्द्र यादवको पहलबाट यो प्रतिष्ठान स्थापनाको निर्णय भई सुरुवाती चरणमा केही बजेट समेत व्यवस्था गरिएको थियो । तर पछि विस्तारै काममा गति देखिन छाडेपछि सप्तरीमा विभिन्न चरणका आदोलन समेत भए । आन्दोलनप्रति विभिन्न दलका नेताहरुले समर्थन जनाएर पनि काम अघि बढ्न नसकेको अवस्थामा डा. राउतले बुधबार प्रतिष्ठानको भवन निर्माणका लागि शिलान्यास गरेका छन् । उनकै पार्टीको नेतृत्वमा अहिले मधेश प्रदेशमा सरकार रहेको अवस्था पनि छ । तत्काल चार करोड बजेटको पनि व्यवस्था गरेर कामलाई अघि बढाईने भनि स्वयम् राउतले नै सञ्चारकर्मीहरुलाई बताएका पनि छन् ।
प्रतिष्ठान निर्माण हुनुपर्छ भन्ने विषयमा कसैको पनि विमति नरहेको अवस्थामा यो कामलाई चाँडै पूर्णता दिएर सञ्चालनमा ल्याउन सकियो भने मात्र जिल्लावासीको भावना साकार भएको मानिने छ ।