न्यूज टुडे
राजविराज, २४ बैशाख ।
सप्तरीको राजविराज १० स्थित बिरोलमा अवस्थित बहुचर्चित राष्ट्रिय गौरवको योजना रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोश्रो पटक शिलान्यास गरिएको छ । नेपाल सरकारका प्रधानमन्त्रीले पाँच बर्ष अगाडि शिलान्यास गरिसकेको योजनालाई पुन: जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बुधबार आयोजित एक समारोहका वीच शिलान्यास गरेको हो ।
२०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको प्रतिष्ठानको भौतिक संरचना निर्माण कार्य अगाडि बढ्न नसकिरहेको बेला डा. राउतले दोश्रो पटक शिलान्यास गर्न भ्याएका छन् ।
जनमत पार्टीको जस लिने नीति तथा डा. राउतको रबैयाले यतिखेर फेरि प्रतिष्ठानको विषय सतहमा पुगेको छ । एउटै योजनामा दोहोरो शिलान्यास गरेपछि डा.राउतको सर्वत्र विरोध भएको छ । अरुले गरेको कामको जस लिन चतुर खेलाडी डा. राउत प्रतिष्ठानको घटनाले नाङ्गिएको स्थानीयले बताएका छन् ।
सर्वसाधारणमा झुठो भ्रम फैलाएर मधेस आन्दोलनको जसलिई ठूलो जनमत प्राप्त गर्न सफलता हाँसिल गरेका डा. राउतको कर्तुत उदाङ्गो भएको स्थानीयको भनाइ छ ।
अध्यक्ष राउतको सचिवालयले सामाजिक संजालमा प्रतिष्ठान शिलान्यास गर्ने व्यानर सार्वजनिक हुन साथ विरोधका स्वरहरुले स्थान पाएका थिए । विभिन्न राजनीतिज्ञ तथा ख्याति प्राप्त प्रतिष्ठित व्यक्तिहरुले समाजिक संजालमा पोष्ट गर्दै कडा शब्दमा विरोध जनाएका थिए । नागरिकको विरोधका वीच प्रधानमन्त्री ओलीलाई काउन्टर दिदै डा. राउतले बुधबार रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोश्रो पटक शिलान्यास गरेका छन् ।
ईन्जिनियर शैलेन्द्र यादवले सस्तो लोकप्रियताको लागि जनमत पार्टीका अध्यक्ष डा. राउतले दोश्रो पटक स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास गरेको आरोप लगाएका छन् ।
‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल शिलान्यास प्रधानमन्त्री केपी ओली ज्यूद्वारा गरिसक्दा अहिले डा. साहाब माननीय सिके राउत ज्यूले मधेस प्रदेश सरकारको सहयोगमा भवनको शिलान्यास गर्नु लाग्नु भएको छ’ प्रश्न गर्दै उनले लेखेका छन्,’ प्रतिष्ठानको शिलान्यास ? बुझ्न ग्राह्रो ?? सप्तरीबासीलाई भ्रममा नपारी सस्तो लोकप्रियताको लागि एउटै योजनाको दोहोरो हुडिङ्ग बोर्ड शिलान्यासको अर्थ के , जिज्ञासा मात्र डाक्टर साहब ? जे होस प्रतिष्ठानको कार्य अगाडि बढोस्, शुभकामना ।’
स्थानीय युवा नेता अनिल यादवले एउटै योजनाको कतिपटक शिलान्यास हुन्छ, यो केका लागि भन्दै प्रश्न गर्दै भ्रमित गर्ने काम नगरौ भनि विरोध जनाएका छन् ।
‘मिति२०७८ असार २२ गते शिलान्यास भइसकेको योजनाको आज पुन:शिलान्यास हुँदै । एउटै योजनाको नाममा कति पल्ट शिलान्यास हुन्छ बुझ्नै सकिएन’ उनले शिलान्यासको व्यानर पोष्ट गर्दै लेखेका छन्,’ सप्तरीमा यस्ता शिलान्यास भइसकेको योजनाहरु अलपत्र छन् । त्यस तर्फ कसैको ध्यान छैन । यो आखिर केका लागि ‘
यी दुई उदाहरण मात्र हुन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका डा. राउतले प्रतिष्ठानको शिलान्यास गर्ने व्यानर सार्वजनिक हुनसाथ सयौंको संख्यामा सामाजिक संजाल प्रयोग कर्ताले व्यानर पोष्ट गर्दै डा. राउतको कार्यशैलीप्रति आपत्ति जनाउदै आलोचना गरेका हुन् ।
उक्त प्रतिष्ठानको २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए ।
जनता समाजवादी पार्टीका अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का तत्कालीन साँसद तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवको पहलमा बिरोलमा प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेका थिए । त्यसको १ बर्षपछी उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास गरिएको थियो । राजविराज नगरपालिकाले जग्गाको व्यवस्था गरेपछि त्यसको संरक्षणका लागि तारपोलले छेकबार गर्ने कार्य भएको थियो ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष डा. राउतसंग भारी मतान्तरले पराजित भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक निर्माण कार्य ओझेलमा परेको थियो । नागरिक स्तरबाट विभिन्न चरणबध्द दवावमुलक आन्दोलन निरन्तर जारी राखेपछि प्रतिष्ठानमा अध्यक्ष नियुक्त गरि प्रक्रिया अगाडि बढाइएको थियो ।