सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ८ ओद्राहाकामा जंगली हात्तीको समुहले मकैबाली नष्ट गरेको छ। दुई दर्जनको संख्यामा सोमबार राती आएका हात्तीको समूहले स्थानीय किसानहरुले लगाएको मकैबाली नष्ट गरेको हो ।
साप्तकोसी नगरपालिका वडा न ८ ओद्राहा का बिन्देश्वर मलाह को १६ कठ्ठामा लगाइएको मकै बाली नष्ट गरेको वडा अध्यक्ष केदार साहले बताए। कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएका हात्तीको समूह बिगत तीन देखि रातको समयमा गाउँ प्रवेश गरि मकै, तरकारी तथा घर भित्रको अन्नबाली खाने, नष्ट गर्ने गरेको साहले बताए।
कोशी टप्पुसंग सिमाना जोडिएका सप्तकोसी नगरपालिकाका पुर्बी वडाहरु २,३,६,७,८,९,१० का स्थानियबासी हात्ती आउने डरले रातभरी जागराम बस्नु परेको वडा नम्बर ६ का अध्यक्ष नन्दिलाल चौधरीले बताए। साना ठुला गरी दुई दर्जनको संख्यामा जंगली हात्ती गाउँ पसेपछि गाउँ नै त्रसित भएको वडा अध्यक्ष चौधरीले बताए।
दिनहुँ हुलकाहुल हात्ती गाउँपसि बाली नष्ट गर्न थालेपछि किसानले मकै नपाक्दै बोटै घाँसका लागि बेच्न थालेको पिडित किसान बिन्देश्वर मलाहले बताए। ठुलो लगानी गरि बाली लगाए पनि भित्र्याउन नपाई बेच्नु पारेकाले लगानी डुबेको पिडित किसान मलाहको दुखेसो छ।