न्यूज टुडे
राजविराज, २७ चैत ।
पत्रकार शुरेश रजकको स्मृतिमा राजविराजमा बुधबार दिपप्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको आयोजनामा स्वर्गीय पत्रकार रजकको आत्माको चिरशान्तीको कामना गर्दै दिपप्रज्वलन गरिएको हो ।
पत्रकार शुरेश रजकको हत्यारालाई कारबाही तथा संचारकर्मी र संचार गृहमा भएको आक्रमण विरुद्ध आन्दोलनरत नेपाल पत्रकार महासंघको पूर्वघोषित कार्यक्रम अनुसार श्रद्धाञ्जली अर्पणगर्दै दिपप्रज्वलन गरिएको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले बताए । पहिलो चरणको आन्दोलनबाट सरकार गम्भीर नदेखिएकोले ७ दिने दवावमुलक आन्दोलनका कार्यक्रम अनुसार स्वर्गीय पत्रकार रजकको आत्माको चिरशान्तिको कामना गर्दै दिपप्रज्वलन गरिएको उनले जानकारी दिए ।
यस अघि सरकारलाई दिएको सातदिने अल्टिमेटमबाट सुनुवाइ नभएकोले केन्द्रीय समितिको आव्हानमा संघर्षमा उत्रिएको महासंघ सप्तरीका सदस्य नर्मदेव यादवले बताए ।
महासंघको संघर्षका कार्यक्रम अनुसार चैत, २६ गते प्रेस विज्ञप्तिमार्फत संघर्षका कार्यक्रम सार्वजनिक गर्ने, २७ गते पत्रकार शुरेश रजकप्रति शोक व्यक्त गर्दै उपत्यकासहित सम्पुर्ण जिल्लाहरुमा दिपप्रज्वलनसहित श्रद्धाञ्जलीसभा गर्ने, २९ गते राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराउने, ३१ गते ‘नेपाल पत्रकार महासंघले चैत १८ गते प्रस्तुत गरेको माग पूरा गर’ भनि गृहमन्त्रीलाई सन्देश पठाउने रहेका छन् ।
यसैगरी बैशाख ०२ गते सम्पादकहरुसंग छलफल गर्ने, ०४ गते संचार गृहका संचालकका प्रमुखसंग छलफल गर्ने, ०६ गते पूर्व सभापति तथा अध्यक्षहरुसंग छलफल गर्ने कार्यक्रम रहेको छ ।
दोश्रो चरणको आन्दोलनबाट समेत माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने आन्दोलनरत पत्रकारहरुले चेतावनी दिएका छन् ।
गत चैत १५ गते काठमाडौ तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकार शुरेश रजकलाई जीउँदै जलाएर निर्मम हत्या गरेका थिए भने संचारकर्मी तथा संचार माध्यममाथि आक्रमण गरिएको थियो ।
प्रेस स्वतन्त्रता हननमा संलग्नहरुमाथि कानूनी कारबाही, रजकका परिवारका साथै क्षति पुगेका संचारगृहलाई यथोचित क्षतिपूर्ति र घाइते पत्रकारहरुको निशुल्क उपचार गर्नुपर्ने महासंघले माग गरेका छन् ।