राजविराज नगरपालिका भित्र सञ्चालन हुँदै आएका सिटी तथा अटो रिक्सालाई अनिवार्य दर्ता गर्नुपर्ने भएको छ ।
बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेपछि अब यो सेवा व्यवस्थित रुपले सञ्चालनमा आउने भएको हो । नगर क्षेत्रमा सिटी तथा अटो सञ्चालनले धेरैलाई रोजगारी प्रदान गरेको छ भने स्थानीय स्तरमा नगरवासीलाई पनि आवतजावतमा सहजता भएको छ । यति हुँदाहुँदै पनि तिनको व्यवस्थापन हुन नसकिरहेका अवस्थामा नकारात्मक प्रभाव नदेखिएका पनि होईनन् । जथाभावी गरिने पार्कि·का कारणले केही साता अघिसम्म राजविराज मेनरोडको अवस्था अस्तव्यस्त बनेकै हो । यसैगरी व्यस्त सडकमा कतिपय सिटी रिक्साले जथाभावी बाटो काट्ने बाहिरबाट गाडीमा आएका यात्रु लिनका लागि आसपासमा होडवाजी गर्ने लगायतका कारणले दुर्घटनाको जोखिम बढ्ने अवस्था थियो । समग्रमा भन्नुपर्दा सिटी र अटोरिक्सालाई व्यवस्थित तरिकाबाट सञ्चालनको आवश्यकता नै थियो । अहिले प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका जनप्रतिनिधि, ट्राफिक प्रहरी तथा सिटी र अटो रिक्साका प्रतिनिधि समेतको बैठकले दर्ता गराएर मात्र सिटी र अटोरिक्सा चलाउन पाईने जुन निर्णय भएको छ त्यसलाई सकारात्मक मान्नुपर्दछ । यसले नगर क्षेत्रमा विना दर्ताकै छाडा रुपमा सञ्चालन हुँदै आएका सिटी र अटो रिक्सालाई नियन्त्रण गर्नाका साथसाथै व्यवस्थित रुपमा तिनको सञ्चालनका लागि सहयोग पुग्नेछ ।
यो व्यवस्था सँगसँथै ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेमाथि पनि कर्डा गरियो भने नगरका मेनरोडहरुमा देखिने गरेको अस्तव्यस्त अवस्थामा पनि सुधार आउनेछ ।