सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दहालले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छड्के अनुगमन गरे ।
सेवामा लापरवाही भईरहेको भनि जनगुनासो बढेपछि दहालले छड्के गरेका हुन् । अनुगमनका क्रममा २५ जना पोशाकविहीन अवस्थामा भेटिएका तथा ९७ जना विभिन्न बहानामा अनुपस्थित रहेको भेटिए । स्वास्थ्य सेवा जस्तो सम्बेदनशील कुरामा यस प्रकारको लापरवाही गरिनु कुनै पनि दृष्टिकोणबाट उचित मानिदैन । अस्पतालमा कुनै पनि समयमा आकष्मिक उपचारकालागि विरामी आउन सक्छन् । त्यसै हिसाबले अस्पतालमा सम्बन्धित जिम्मेवारीमा रहेका सबै कर्मचारीको उपस्थिति आवश्यक रहन्छ । विरामीको उपचारकालागि आवश्यक जनशक्ति तैनाथि अवस्थामा नरहँदा यसले गर्दा विरामीकै ज्यान खतरामा पर्ने अवस्था नआउला भन्न सकिन्न । अतः सरकारी कोषबाट तलब सुबिधा पाउँदै आएका कर्मचारीले बहाना रचेर काम गर्ने समयमा अनुपस्थित रहन्छन् भने त्यो तिनको लापरवाही मानिने भएका कारण यस प्रकारका प्रबृत्तिलाई कुनै पनि रुपमा बढावा दिन मिल्दैन । ड्युटीका समयमा अनुपस्थित रहने व्यक्तिका भरमा अस्पतालमा कसरी विरामीको सेवा सम्भव होला ? प्रश्न गम्भीर छ । उसै पनि यस अस्पतालमा स्वास्थ्य सेवाको स्तर खस्किँदै गएको भनि जनगुनासो उठ्न थालेको छ । यसलाई शिक्षाकै रुपमा ग्रहण गरी भएका त्रुटी कमजोरी सुधार गरी अघि बढ्नु पर्ने अवस्थामा बहुसंख्यक कर्मचारी अस्पतालमा उपस्थित नै नरहने हो भने चिकित्सकीय सेवामा कसरी सुधार ल्याउन सकिएला ?
तसर्थ अस्पतालको सेवास्तरमा सुधार ल्याउनु पर्छ । लापरवाही गर्ने छुट कसैलाई पनि हुँदैन ।