न्यूज टुडे
राजविराज, २४ माघ ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिकाभित्र संचालन हुने सिटी तथा अटोरिक्सा अनिवार्य दर्ता हुनुपर्ने भएको छ । प्रजिअ भोला दाहालको अध्यक्षमा बिहिवार सम्पन्न बैठकले व्यवसायीक सिटी तथा अटोरिक्सालाई अनिवार्य रुपमा दर्ता गर्नुपर्ने निर्णय गरेको हो ।
राजविराज नगरपालिकामा संचालनमा रहेका व्यवसायीक सिटी अटोरिक्साहरु नगरपालिकाले तोकिएको प्रकृया र ढाँचा पुर्याई २०८१ फागुन २० गतेसम्म अनिवार्य रुपमा दर्ता गर्नुपर्ने निर्णय भएको नगरपालिकाको कार्यालयले जनाएको छ ।
तोकिएको अवधीमा दर्ता नगरिए संचालनमा रोक लगाउने निर्णय समेत भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी गराएको छ ।
‘सिटी र अटो रिक्सा संचालन गर्दा ब्लूबुक र लाइसेन्स अनिवार्य राख्नैपर्ने हुन्छ’ त्यहीं भएर यस्तो निर्णय गरिएको छ’ बैठकमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामबालक रायले भने ।
प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसरत परबिन, यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख कामेश्वर रोहिता, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामबालक राय, सिटी अटो संघका केदार देवसहितका सरोकारबालाको उपस्थिति रहेको थियो ।