दुई दाजुभाई बीचको जग्गा सम्बन्धी विवाद स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सिफारिस गरेपछि वर्षौदेखि अल्झिएर रहेको छ ।
सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका–६ का रामकुमार लेखी र उनका दाजु आशाराम लेखी बीचको जग्गा सम्बन्धी विवाद अनिर्णयमा पुगेको हो । वडा नं. ६ मा वडाध्यक्षले एउटा व्यहोराको, कार्यवाहक वडाध्यक्षले त्यसभन्दा फरक व्यहोरा विभिन्न समयमा सिफारिस गरेका छन् । फेरि एकै जनाले अघिल्लो पल्ट गरेको सिफारिसलाई खण्डन गर्ने गरी दोस्रो पटक सिफारिस गर्नाले उक्त जग्गाका बारेमा के निर्णय दिने भन्ने कुरामा नापी कार्यालय समेत अन्यौलमा परेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले सेवाग्राही जनताका लागि विभिन्न विषयमा सिफारिस दिनु पर्ने हुन्छ । यस्तै सिफारिसमा टेकेर उनीहरुको काम विभिन्न निकायमा अघि बढाईन्छ । अतः यसरी दिईने सिफारिस वास्तविकतामा आधारित तथ्यपरक तथा सहीसत्य हुनुपर्दछ । यसका निमित्त जनप्रतिनिधिले आफूले गरेको सिफारिसप्रति अडिन सक्नुपर्छ, कसैको प्रभाव पहुँच वा प्रलोभनमा पर्न मिल्दैन । कुरा रामकुमार र आशारामको मात्र होईन स्थानीय तहबाट हुने गरेका जुनसुकै सिफारिस पनि वास्तविकता के हो त्यसमै आधारित भएर गरिनु पर्ने हुन्छ । अग्निसाईर कृष्णसवरण गाउँपालिका वडा नं. ६ को कार्यालयबाट गरिएको यस्तो सिफारिसले त कुन सही र कुन असत्य हो भन्ने संशय पैदा गरेको मान्न सकिन्छ ।
स्थानीय सरकारकै भूमिकामा रहेका स्थानीय तहबाट गरिने यस्तो कार्यलत उनीहरुकै कार्यशैलीवारे प्रश्न उठ्न सक्छ । अतः यस्तो कार्यशैलीमा सुधारको आवश्यकता छ ।