न्यूज टुडे
राजविराज, २२ माघ ।
सप्तरीको बिष्णुपुर गाउपालिकामा २ हजार ३९ जना किशोरीहरूलाई क्यान्सर रोग विरुद्धको ‘एचपिभि’ खोप लगाउने भएको छ। बिष्णुपुर गाउँपालिका स्वास्थ शाखा द्वारा मंगलबार आयाेजित एक दिने गाउँपालिका खाेप समन्वय समिति, सराेकारवालाहरू र ,संचारकर्मीसंगको अभिमुखिकरण कार्यक्रमका उक्त जानकारी गराईएकाे हाे।
कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादबले खाेपवाट पालिकाकाे काेही पनि किशोरीहरू नछुट्ने गरी स्वास्थकर्मी तथा स्वास्थ्य चाैकी मातहतका सम्पुर्ण स्वयमसेविका र कर्मचारीहरूलाई निर्देशन दिए । उनले फाल्गुन १ गते देखि संचालन गरिने खाेप अभियानमा प्रत्येक वडाका अध्यक्षहरूले आ- आफ्नो बस्ती, टाेलका कुनै पनि किशोरीहरू नछुटने गरी प्रचारप्रसार गर्न आग्रह गरे।
राष्ट्रिय खोप कार्यक्रम २०८१ को परिपत्र अनुसार १० बर्ष देखि १४ बर्षसम्मका वालिकालाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्नको लागी एचपिभि खोप अभियान संचालन गरेको स्वास्थ्य शाखा संयाेजक शिवकुमार साहले बताए ।
‘खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ, विश्वमा यसको सफल परीक्षण भइसकेको छ र यो सुरक्षित र प्रभावकारी पाइएको छ, नकरात्मक असर देखिएको छैन ’ उनले भने,’यो खोप लगाउँदा बाँझोपन हुने वा महिनावारी गडबडी हुने भन्ने बुझाइ गलत भएको हो, ‘ढुक्क भएर लगाउँदा हुन्छ ।’
पालिकामा फागुन १ गते देखि ६ गते सम्म खोप अभियान संचालन हुने बिष्णुपुर गाउँपालिका स्वास्थ्य शाखा संयाेजक साहले बताए । स्वास्थ्य शाखाका अनुसार कक्षा छ देखि कक्षा दशसम्मको छात्राहरुलाई तथा विद्यालय बाहिरका दश बर्ष देखि चौध बर्ष सम्मका किशोरीहरुलाई पनि यो खोप लगाउने छ ।
खोप अभियानमा ४२ जना स्वमसेविका तथा १४ जना स्वास्थ्यकर्मी परिचालन गरिएकाे स्वास्थ्य शाखा संयाेजक साहले जानकारी दिए । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान सुरू गरेकाे उनले जानकारी दिए।
अभियानको क्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७ सय ६८ किशोरीलाई खोप दिने लक्ष्य छ ।
खाेप समन्वय समितीका संयोजक एवम् बिष्णुपुर गाउँपालिका अध्यक्ष यादबकाे अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा ७ वटै वडाका वडा अध्यक्ष सहित कार्यपालिका सदस्य तथा विभिन्न शाखाका प्रमुखहरु, विभिन्न स्वास्थ्य संस्थाका इन्जार्जहरुको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन स्वास्थ शाखा संयाेजक साहले गरेका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलोमा भाइरस संक्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।
देशभर एकैपटक पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमावि खोप केन्द्र खटिएका काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेपछि मंगलबारदेखि अभियान औपचारिक सुरु भएको हो ।