न्यूज टुडे
राजविराज, १९ माघ । राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविनले संरचना भत्काउँदा पक्षपत गरेको स्थानीयले आरोप लगाएका छन् । पीडितहरुले राजविराजमा शनिबार पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा पीडितमध्येका कलिम खानले अनुमती पत्र समेत नभएका नगरपालिकाले चलाएको डोजरले आफ्ना श्रीमती घाइते भएको बताए। चालक विजय देवले चलाईरहेको जेसीबीको बौकेटले श्रीमती जकिया खानको अनुहार–टाउकोमा चोट लागेर घाईते भएपछि उपचार भईरहेको उनले जानकारी दिए ।।
‘अदालतले दुई पक्षको छलफलबिना तत्कालै कुनै किसिमको भौतिक संरचनामा क्षति नपुर्याउने आशयको आदेश गर्यो’, खानले भने, ‘तर पनि नगरपालिकाकी काबा मेयर परविनले अदालतको आदेश उल्लंघन गर्दै जर्बजस्ती आफ्नो पर्खाल जेसिबी लगाएर भत्काउने थालेँ, उक्त क्रममा श्रीमती गम्भिर घाईते भईन्, अब अदालतको अवहेलनासहित न्यायकालागि नगरपालिकासँग कानूनी लडाइँ लड्छु ।’
नगरपालिकाका जनप्रतिनिधिहरुले कानून भन्दा पनि आफ्ना अनुकुलका ब्यक्तिहरुको घर जोगाउँदै बाटो फराकिलोको नाममा आफूहरुलाई दुःख दिएको खानको भनाई छ ।
‘हुनत् मेरो घर अगाडीको बाटोको चौडाई ८ मिटर छ, जबकी नगरपालिकाले सडकको केन्द्रबाट दाँया–बाँया गरी साढे ३ मिटर मात्रै लिईरहेको भनि सूचना छ’, उनले भने, ‘एक मिटर बढी सडक हुँदा पनि मेरो पर्खाल भत्काउन थाल्यो, यो सरासर पूर्वाग्राही देखियो ।’
अदालतले यसै विषयमा नगरपालिकाको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई आउँदो माघ २१ गते छलफलकालागि बोलाएको उनले बताए ।
सिङ्गो सडक फराकिलो गर्दा एकनाश हुनुपर्ने बताउँदै स्थानीयले त्यसकालागि आफूहरु तयार रहेपनि जनप्रतिनिधिहरु पूर्वाग्राहीढंगले अगाडी बढिरहेको आरोप लगाईरहेका छन् ।
पत्रकार सम्मेलनमा अर्का पीडित दिपेशकुमार साहले आफ्नो घरको नक्सासमेत नगरपालिका आफैंले पास गरेर अहिले सडक फराकिलोको नाममा घर भत्काउनुपर्दा आर्थिक र मानसिक पीडा भएको बताए ।
‘नगरपालिकाबाट खटिएका अमिनले पहिलो दिन र अर्को दिनमा फरक–फरक ठाउँमा चिन्ह लगाएर घर भत्काउन भन्नु कहाँको न्यायोचित हो ?’, उनले भने, ‘बदनियतपूर्वक आफ्नो घर भत्काउन नगरपालिकाबाट दवाब आईरहेको छ, एक पटक नगरपालिकाले नक्सा पास गरिदिने, अर्को पटक फलानो ठाउँसम्म भत्काउनु भन्नु, त्यहाँसम्म भत्काएपछि फेरी अरु भत्काउनुपर्छ भनेर निर्देशन दिने कहाँको न्याय हो ?’
पीडितहरुले विकासको बाधक आफूहरु नभएको भन्दै यसअघि पनि सडक फराकिलो गर्दा आफूहरुले जग्गा सडकमा दिएको बताए । उनीहरुले नगरपालिका र जनप्रतिनिधि सबैको हुने गरी काम गर्नुपर्ने बताएका छन् ।
गैरकानूनीरुपमा राजविराज नगरपालिका कार्यालयले अदालतको आदेश विपरित आफूहरुको घर–सम्पत्तीमा क्षति पुर्याउँदै ज्यानसमेत मार्ने गरी क्रियाकपाल गरेको भन्दै पीडितहरु न्यायकालागि अदालत जाने भएको छ ।
राजविराज नगरपालिकाले गत बिहीवार वडा नम्बर ३ स्थितको बाटो फराकिलो गराउने नाममा उच्च अदालत जनकपुरको राजविराज इजलासको आदेश विपरित जर्बजस्ती स्थानीयहरुको घर–पर्खाल भत्काउनुको साथै उक्त क्रममा जेसिबीबाट एक जना महिला घाईतेसमेत भएकी थिईन् ।
सोही घटना सम्बन्धमा शनिवार स्थानीय पीडितहरुले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गरी न्यायकालागि पुनः अदालत जाने बताएका हुन् ।