• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ल्होछारको तेस्रोदिन पनि मान्यजनको हातबाट टीका ग्रहण गरिंदै

ल्होछारको तेस्रोदिन पनि मान्यजनको हातबाट टीका ग्रहण गरिंदै
न्यूज टुडे
राजविराज, १९ माघ । 
सप्तरीमा २८६१ औं सोनाम (डुल) ल्होछारको तेस्रो दिन पनि  मान्यजनको हातबाट टीका खदा ग्रहण गरि तामाङ समुदायले ल्होछार मनाइरहेका छन् ।  घर-घरमा  लुङ्दोर तथा लुङ्ताले  घर रंगीचंगी बनाएर त्रीरत्न बुद्वको पूजा गरि प्रसादको रुपमा खदा र टीका ग्रहण गरि प्रारम्भ भएको टीका शनिबार पनि जारी राखेका हुन् । 
ल्होछारको अवसरमा भेला भएका आफान्त इष्टमित्र । फोटो : न्यूज टुडे

तामाङ  समुदायहरु एकठाउँमा भेला भएर मिठो मसिनो बनाएर खाने एक-आपसमा शुभकामना आदानप्रदान तथा मान्यजनबाट टीका खदा ग्रहण गरी आर्शिवाद लिने कार्यलाई  जारी राखेका छन् । उक्त अवसरमा तामाङ बाहेक अन्य समुदायलाई  पनि घरमा बोलाउने मिठो परिकार बनाएर खुवाउने तथा शुभकामना आदानप्रदान गरिने नेपाल तामाङ साँस्कृतिक घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर तामाङले बताए । 
यसले एक-आपसमा आत्मीयता बढ्ने, आपसी सद्भाव वृद्धि हुने र सामाजिक एकता कायम हुने उनको विश्वास छ । उनले यस्ता गतिविधिले ल्होछारको महत्त्वलाई थप झल्काउने ल्होछारप्रति तामाङलगायतका विभिन्न समुदायको सकारात्मक धारणाको विकासमा टेवा पुग्ने बताए । 
रंगीचंगी लुङ्दोर तथा आफ्ना मौलिक पहिरनमा सजिएका तामाङ समुदायको बढ्दो आवतजावतले ल्होछारको रौनकतामा थप वृत्ति विकास हुने उनको भनाइ छ । 
ल्होछार पर्वको तेश्रो दिन पनि मान्यजनको हातबाट टिका, खदा ग्रहण गरि तामाङ समुदायले ल्होछार मनाइरहेका छन् । आफ्नो मौलिक पोशाकमा ससुराली, माईता, माबला आउने-जाने क्रमले तामाङ टोल तथा बस्तीहरुमा उल्लास छाएको नेपाल तामाङ घेदुङका संघीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज भिम घिसिङली बताए ।
ल्होछारको पहिलो दिन विहिबार त्रीरत्न बुद्धको पूजा गरि लुङ्दोर फराउन राम्रो साइत नभएकोले शुक्रबार विहान आ-आफ्नो घरमा पूजा गरि प्रसादको रुपमा टीका र खदा ग्रहण गरि ल्होछारको टीका प्रारम्भ भएको उनले जानकारी दिए । 
माघ प्रतिपदा अर्थात ल्होछारको पहिलोदिन सार्वजनिक रुपमा ल्होछारको महत्त्व र विशेषता विषयक विचार तथा शुभकामना आदानप्रदान समारोहको आयोजना गरि सामुहिक रुपमा ल्होछार पर्व मनाएका तामाङ समुदायले टीका खदा ग्रहणलाई निरन्तरता दिइरहेको  उनले जानकारी दिए ।
पहिलो दिन टिकाको साइत भएपनि त्रीरत्न बुद्धको पूजा गरी लुङ्दोर फराउने साइत राम्रो नपरेकाले सप्तरीमा दोश्रो दिनदेखि ज्येष्ठ सदस्यबाट टीका, खदा लगाउने आर्शिवाद थाप्ने कार्य सुरु गरिएको संघीय सदस्य घिसिङले बताए । 
उनका अनुसार यो क्रम निरन्तर जारी राखी श्रीपञ्चमीको साँझमा सम्पुर्ण प्राणीजगतको कल्याण होस र बर्षभरी सुख शान्ति र समृद्धिको कामनासहित अमिता बुद्धको पूजा गरि टीका समापन हुने छ । 
यसअघि सप्तरी घेदुङले सोनाम ल्होछारको परिचय गराउँदै संस्कार र संस्कृति संरक्षण गर्ने उदेश्यले जिल्लाका स्थानीय तहहरुमा तामाङ जागरण तथा सोनाम ल्होछार साँस्कृतिक अभियान संचालन गरेका थिए ।