• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

समाचारको विषयमा प्रहरीमा उजुरी दिनु प्रचलित अभ्यास र प्रेस स्वतन्त्रता विरुद्ध : महासंघ

समाचारको विषयमा प्रहरीमा उजुरी दिनु प्रचलित अभ्यास र प्रेस स्वतन्त्रता विरुद्ध : महासंघ
न्यूज टुडे
राजविराज, १६ माघ । 
नेपाल पत्रकार महासंघले प्रकाशित समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य दिनेश पराजुली विरुद्ध प्रहरी कार्यालयमा अभद्र व्यवहारको उजुरी दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयमा प्रहरीमा उजुरी दिनु प्रचलित अभ्यास र प्रेस स्वतन्त्रता विरुद्ध भएको जनाएको हो । 
समाचारको विषयलाई लिएर पत्रकार पराजुली विरुद्ध प्रहरी समक्ष उजुरी दिनु प्रचलित अभ्यास र प्रेस स्वतन्त्रता विरुद्ध भएको महासंघले ठहर गरेको छ ।
‘आफ्नो विषयमा समाचार लेखेको आधारमा जनमत पार्टीका एक नेताले  पत्रकार पराजुली विरुद्ध सप्तरीस्थित कंचनपुर इलाका प्रहरी कार्यालयमा अभद्र व्यवहारको उजुरी दिएकोे महासंघ सप्तरी शाखाले जनाएको छ,’ विज्ञप्तिमा भनिएको छ,’समाचारप्रति चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने प्रवाधान रहेकामा त्यसलाई छलेर प्रहरी समक्ष उजुरी दिनु प्रचलित अभ्यास र प्रेस स्वतन्त्रता विरुद्ध हुन जाने महासंघको ठहर छ ।’
महासंघले यस्ता कार्य नदोहोर्‍याउन सचेत गराउँदै पत्रकारलाई निर्वाध र निर्भीकतापूर्वक काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण समेत गराएको छ ।
‘प्रेसको संवैधानिक अधिकारको ख्याल गरी यस्ता कार्य नदोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै महासंघ पत्रकारलाई निर्वाध र निर्भीकतापूर्वक काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ ‘ महासचिव दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
पत्रकार पराजुली विरुद्ध जनमत पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क)प्रदेश सभाका उम्मेदवार शिवनन्दन महतोले प्रहरीमा अभद्र व्यवहारको उजुरी दिएका छन् ।  उजुरी पछि प्रहरीले उपस्थित हुन दवाव दिइरहेको पीडित पत्रकार पराजुलीले बताएका छन् ।