• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

समाचारकै निहुँमा पत्रकार शर्मामाथि प्रहरीमा अभद्र व्यवहारको उजुरी

समाचारकै निहुँमा पत्रकार शर्मामाथि प्रहरीमा अभद्र व्यवहारको उजुरी
न्यूज टुडे
राजविराज, १२ माघ । 
समाचार लेखेको निहुँमा पत्रकार दिनेश शर्मा विरुद्ध प्रहरीमा अभद्र व्यवहारको उजुरी परेको छ । पत्रकार शर्माले शनिबार आफुविरुध्द प्रहरीमा उजुरी परेको भनि पत्रकार महासंघ सप्तरी शाखामा निवेदन दर्ता गराएपछि उक्त घटना सार्वजनिक भएको हो । 
पत्रकार शर्माले नेपाल पत्रकार महासंघ सप्तरीमा निवेदन गर्दै आवश्यक पहल गरिदिन आग्रह गरेका हुन् ।  उनले महासंघमा दिएको निवेदनमा समाचार लेखेको निहुँमा इलाका प्रहरी कार्यालय कंचनपुरमा आफू विरुद्ध अभद्र व्यवहारको उजुरी परेको उल्लेख छ ।  
जनमत पार्टीका नेता शिवनन्दन महतोले म माथि इलाका प्रहरी कार्यालय कञ्चनपुरमा अभद्र व्यवहारको उजुरी दिएको र प्रहरीले सोमबार हाजिर हुन फोनबाटै जानकारी गराएको पत्रकार शर्माले महासंघमा दिएको निवेदनमा जनाइएको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउत र श्रीमती सोनी सिन्धु रानीसँग सम्वन्ध विच्छेद प्रकरणको समाचार लेखेको विषयमा आफुलाई समाचार नलेख्न दवाव दिने समुहले उजुरी दर्ता गरेको पत्रकार शर्माको निवेदनमा उल्लेख छ । 
 ‘जनमत पार्टीका अध्यक्ष सीके राउत र श्रीमती सोनी सिन्धु रानीसँग सम्वन्ध विच्छेदका प्रकरण सार्वजनिक भएपछि मैले त्यो विषयमा समाचार लेखैं। सप्तरी जिल्लाबाटै निर्वाचित सांसद र स्थानीयवासी समेत भएको नाताले यहाँका नागरिकका लागि त्यो आम चासोको विषय हो भन्ने मान्यताका आधारमा मैले फलोअप समाचार पनि लेखें’, पत्रकार शर्माले दिएको निवेदनमा भनिएको छ, ‘मलाई लाग्छ, आफनो जिल्लाबाट निर्वाचित सांसद त्यसमाथि एउटा पार्टीको राष्ट्रिय अध्यक्षका गतिविधिका बारेमा सर्वसाधारणलाई अपडेट गराउनु पत्रकारको धर्म पनि हो। तर, यस विषयलाई राउतले गलत रुपमा लिएर मलगायतलाई  गरेको व्यवहार जानकारीमै हुनुपर्छ।’
‘त्यसपछि पनि राउतले दिएका कतिपय अन्टसन्ट र विवादित अभिब्यक्तिहरु समाचारका विषय वने। मैले पनि समाचार लेखिरहें। यसैक्रममा करिव एक साता अघि सप्तकोशी नगरपालिकातिरकै ठेकेदार उमेश दास नामका ब्यक्तिले ‘सल्लाह गर्नुछ, एकछिन भेटौं’ भन्दै मलाई फत्तेपुरको इन्द्रणी होटलमा वोलाए। म त्यहाँ पुग्दा उनीलगायत जनमत पार्टीका केन्द्रीय सदस्य एवम् गत प्रदेश सभा निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नं. १ (क) का उम्मेदवार शिवनन्दन महतोसहित ४÷५ जना ब्यक्ति पहिलादेखि नै उपस्थित थिए। म पुगेपछि सीके राउतको समाचारको प्रसंग उठाएर उनीहरुले आईन्दा जनमत पार्टी र सीके राउतसँग सम्वन्धित समाचार नलेख्न निर्देशन दिए’ निवेदनमा उल्लेख छ । 
 ‘वरु, पोजेटिभ समाचार मात्र छाप्नु भनेपछि मैले सीके राउतले आफुलाई गरेको व्यवहार पहिले समयदेखिको अवस्थाका विषयमा जानकारी गराउँदै ‘समाचार लेख्दिन त भन्दिन तर विचार गरौंला’ भन्ने आसयको कुरा गरी त्यहाँबाट निस्केर हिडेको थिए’ शर्माले बुझाएको निवेदनमा भनिएको छ,  त्यसको केही दिनपछि नै नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष एवम् सल्लाहकार वैद्यनाथ यादवलाई प्रहरीले पक्राउ गर्यो। उनले फेसवुकमा आफु पक्राउ पर्नुको कारकका रुपमा डा. सीके राउत र मुख्यमन्त्री सतिश सिंहलाई लिएका छन्। यो प्रकरणमा मैले समाचार लेखें। त्यो लगत्तै शिवनन्दन महतोले ‘समाचार नलेख्ने भनेपछि फेरी किन लेखेको’ भन्दै मलाई धम्क्याए। त्यसै क्रममा फोनमै वादविवाद भएको थियो। सोही विवादको विषयमा अहिले जनमत पार्टीका नेता शिवनन्दन महतोले म माथि इलाका प्रहरी कार्यालय कञ्चनपुरमा अभद्र व्यवहारको उजुरी दिएको जानकारीमा आएको छ।’
बोलाएको समयमा उपस्थित नभए पक्राउ गर्न प्रहरी खटाउनेसम्मको दवाव आएको उनले निवेदनमा उल्लेख गरेको छ । 
‘इप्रकाका असईले मलाई फोन गरेर उजुरीको बारेमा जानकारी दिँदै सोमबार कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्। उपस्थित नभए घरबाट उठाउनेसम्मको  प्रहरीले दवाव दिएको छ’ उनले लेखेको निवेदनमा उल्लेख छ । 
‘समग्रमा डा. सीके राउत र उनका कार्यकर्ता र प्रहरी समेतको मिलेमतोमा मलाई पक्राउ गर्ने, हप्काउने, धम्क्याउने, हतोत्साहित बनाउने र समाचार नलेख्ने वातावरण बनाउने नियोजित षडयन्त्रमा लागेको मलाई महसुस भएको छ।” निवेदनमा भनिएको छ, ‘अन्यथा समाचारसँग सम्वन्धित विषयमा पत्रकारलाई धम्क्याउनेलाई संरक्षण गरेर उल्टै पत्रकार विरुद्ध प्रहरीले उजुरी लिने थिएन। तसर्थ मलाई मात्र होईन, भोलीका दिनमा पत्रकारलाई निर्धक्क समाचार लेख्न सक्ने वातावरण वनाई राख्न यो प्रकरणमा नेपाल पत्रकार महासंघले गम्भिर र परिणाममुखि कदम चालोस भन्ने मेरो आग्रह छ।’
इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले पत्रकार शर्मा विरुद्ध  शिवनन्दन महतोले उजुरी दिएकोले छलफलका लागि सोमबार दुबैपक्षलाई बोलाएको बताए । 
सप्तरीको सप्तकोशी नगरपालिका १ घर भएका पत्रकार शर्माले सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर विभिन्न राष्ट्रिय तथा स्थानीय संचार माध्यममा आवद्ध भई दुइदशकबढी समयदेखि पत्रकारिता गर्दै आएका छन् ।