नेपाल तामाङ घेदुङ अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ सितापुरद्वारा आफ्ना सदस्यहरुलाई ल्होछार मान्न खर्च वितरण गरेको छ । वडा नम्बर २ की अध्यक्ष सरस्वती गोले तामाङको अध्यक्षता तथा संघीय सदस्य भिम घिसिङको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका वीच ल्होछार खर्च वितरण गरिएको हो ।
ल्होछार खर्च वितरण गर्दै संघीय सदस्य घिसिङ । फोटो : न्यूज टुडे
२८६१ औं सोनाम डुल ल्होछारको अवसरमा ल्होछार खर्च वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि संघीय सदस्य घिसिङले ८७ हजार ४ सय ७२ रुपैयाँ प्रदान गरे । वडा घेदुङमा आवद्ध ३४ घरपरिवारलाई ल्होछार मान्न प्रोत्साहन गर्न खर्च वितरण गरिएको वडा अध्यक्ष गोलेले बताइन् ।
वडामा रहेका ३४ घरधुरीले बर्षदिन बचत गरेअनुसार ६ प्रतिशत व्याज थप गरि बचत फिर्ता गरिएको उनले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिसिङ । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिसिङले ल्होछारको पूर्वसन्ध्यामा खर्च वितरण कार्यक्रम संसार भरीका तामाङहरुको लागि प्रेणादायी रहेको बताए । कार्यक्रम सानै भएपनि महत्त्वपूर्ण रहेको र यसको देश विदेशमा चर्चा हुने गरेको बताउँदै उनले सप्तरी घेदुङले ल्होछारको पूर्वसन्ध्यामा आयोजना गरेको तामाङ जागरण तथा सोनाम ल्होछार सांस्कृतिक अभियान तथा यस्ता कार्यक्रमहरु उदाहरणीय रहेको उल्लेख गरे ।
उनले वडा घेदुङको यस प्रकारको नमूना कार्यबाट पाठ सिकेर ल्होछारको महत्व झल्काउन सम्पुर्ण तामाङ समुदायलाई आग्रह गरे । घिसिङले कार्यक्रमले तामाङ समुदायलाई आफ्नो संस्कार र संस्कृति संरक्षण तथा जातीय पहिचान र अधिकारको संघर्षमा जुट्न प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरु ।फोटो : न्यूज टुडे
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङले ल्होछार पर्व विधिवत मनाउनु पर्नेमा जोड दिए । उनले ल्होछार पर्वको पहिलो दिन माघ प्रतिपदाको दिन त्रिरत्न बुद्धको पूजा गरि लुङदोर फहराएर चढाएको खदा र अक्षतामा दहि मुछेर सेतो टिका प्रसादको रुपमा आफुभन्दा सानालाई टीका,खदा लगाएर घरबाट सुरु गरि पाँचदिनसम्म मान्यजनको हातबाट टिकाखदा ग्रहण गरि आर्शिवाद थापेर ल्होछार मनाउन आग्रह गरे ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ सप्तरी सदस्य मान बहादुर योन्जन, लगुमाया न्यासुर, राजविराज नगर घेदुङ अध्यक्ष देवेन्द्र घिसिङ, नेपाल तामाङ साँस्कृतिक घेदुङका अध्यक्ष टिक बहादुर लो तामाङलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत वडा घेदुङका सदस्य तिलक लो तामाङले गरे ।