“स्वस्थ समाज समृध्द नेपाल र विश्व शान्तिका लागि योग !” नाराका साथ दशौँ राष्ट्रिय योग दिवस राजविराजमा मंगलबार भव्यतापूर्वक मनाइएको छ । राजविराजस्थित रंगशाला मैदानमा पाँच सय भन्दा बढीको एक साथ भेला भएर योग अभ्यास गर्नुका साथै राजविराज नगरमा प्रभात फेरी गरी योग दिवस मनाइएको हो ।
राष्ट्रिय योग दिवसको अवसारमा आयोजित योगाभ्यासमा सहभागी । फोटो : न्यूज टुडे
पतञ्जली योग समिति सप्तरीका अध्यक्ष रामस्वरुप चौधरीको अध्यक्षता र नगर समितिका अध्यक्ष पंकज देवको सञ्चालनमा भएको कार्यक्रममा मधेश प्रदेश पतञ्जली योग समितिका संगठन सचिव तथा वरिष्ठ योग प्रशिक्षक बद्रीराज भण्डारीले एक घण्टा योगाभ्यास गरे ।
पतञ्जली योग जिल्ला र नगर समितिको आयोजनाका भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भोला दाहालले स्वस्थ रहनका लागि योग आवश्यक रहेको बताए । भागदौडको जीवनशैली र अखाध खानपानले जन्मिरहेको नयाँ–नयाँ रोगहरुसँग लड्न र शरीरको प्रतिरोधात्मक क्षमता बढाउन योग आवश्यक रहेको उनको तर्क गरे ।
“योग कला र विज्ञान हो, जस्ले मष्तिष्क र शरीररलाई जोड्ने काम गर्छ ।” उनले भने ।
विज्ञानले मानिसका रोगहरु निदान गर्दै आए पनि शरिर र मनलाई स्वस्थ राख्न योगको प्रयोग हुँदै आएको र संसारभरी योगको लोकप्रियता बढिरहेको उनले बताए ।
कार्यक्रममा आयोजक समितिले प्रजिअ दाहालसहित सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणी पौडेल, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, राष्ट्रिय अनुसन्धान कार्यालयका उपअनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, प्रादेशिक आर्युवेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. शिवशंकर यादव, इन्सेकका मनोहर पोखरेल, उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अरुण प्रधान, नेपाल जेसीजका उपाध्यक्ष उज्वल काबरा, राजविराज जेसीजका अध्यक्ष विप्लब कर्ण, बरख गणका गुल्म प्रबन्धक नबीन निरौला, प्रहरी तालिम केन्द्रका प्रहरी नायव निरीक्षक प्रेमबहादुर क्याप्छाकीलाई सम्मान गरेको थियो ।
योग अभ्यास पछि प्लेकार्डसहित निक्लेको जुलुशले नाचगान गर्दै, विभिन्न नारा लगाएर राजविराज नगरको परिक्रमा गरेको छ ।
मन्त्रिपरिषद्ले २०७२ साउन २८ गते माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेको थियो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो ।
नेपाल माहात्म्यको हिमवत्खण्डमा चर्चा भएअनुसार योगको सुरुआत शिव र पार्वतीको संवादबाट सुरु भएको मानिन्छ । शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्र हो ।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।
आयुर्वेदलाई योगसँग जोड्न वि सं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो । संयुक्त राष्ट्र संघले घोषणा गरेपछि सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ ।