पूर्वपश्चिम हुलाकी सडक खण्ड अन्तर्गत सप्तरीको बोदे बर्साईन ५ मा मंगलबार राजबिराज नगरपालिकाको स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा बोदेबर्साईन नगरपालिका– १ घनगढी निवासी १५ वर्षीय मोटरसाइकल चालक राजेश कुमार यादव र सोही ठाउँ निवासी २१ वर्षीय अजित कुमार यादव गम्भीर घाइते भएका हुन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ झ ४८१ नम्बरको सरकारी स्कारपिओले विपरीत दिशाबाट आउदैन गरेको को ३० प २७३७ नम्बरको मोटरसाइकललाई बोदे बर्साईन नगरपालिका–५ हुलाकी सडक अन्तर्गतको बिधुत प्राधिकरण जाने बाटोमा ठक्कर दिएको थियो।
घाइते दुबैजनाको बोदेबर्साइन स्थित जीवन ज्योति हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रहरी सहायक निरीक्षक दिपेन्द्र पासवानले बताए ।
ठक्कर दिने स्कारपिओ प्रहरीको नियन्त्रणमा रहेको तथा चालक फरार रहेको खोजी भइरहेको उनले जानकारी दिए ।