• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रहरी सहायक निरीक्षक तामाङसहित चार प्रहरी  पुरस्कृत

प्रहरी सहायक निरीक्षक तामाङसहित चार प्रहरी  पुरस्कृत
न्यूज टुडे
राजविराज, २८ पुस । 
सप्तरीको प्रहरी चौकी मौवाहाका प्रहरी सहायक निरीक्षकसहित चार जना प्रहरी पुरस्कृत भएका छन् । ठुलो परिणाममा लागू औषध  गाँजा नियन्त्रणमा सफलता हाँसिल गरेको भन्दै   जिल्ला प्रहरी कार्यालयद्वारा आइतबार प्रहरी सहायक निरीक्षक हेमन्त तामाङसहित चार जना पुरस्कृत भएका हुन् । 
एसपी खतिवडाबाट पुरस्कार ग्रहण गर्दै वरिष्ठ हवलदार महतो । फोटो : न्यूज टुडे
पुरस्कृत  हुनेमा प्रहरी सहायक निरीक्षक तामाङ, वरिष्ठ प्रहरी हवलदार राज कुमार महतो,प्रहरी जवान अर्जुन कुमार साह र मुकेश राय छन् । उनीहरूलाई सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जनही नगद रु १ हजार पुरस्कार प्रदान गरे । 
लागूऔषध गाँजा नियन्त्रणमा उल्लेखनीय सफलता हाँसिल गरेकाले उनीहरुको कार्यको उच्च मुल्यांकन गरि प्रोत्साहनस्वरुप पुरस्कृत गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताए ।  प्रहरी चौकी मौवाहाका प्रहरी सहायक निरीक्षक हेमन्त तामाङ नेतृत्वको प्रहरी टोलीले शनिबार ६ सय ७० किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको थियो । 
प्रहरीले पत्रकार सम्मेलन मार्फत पछिल्लो समय नियन्त्रणमा लिएको लागूऔषध गाँजा सार्वजनिक गरेका थिए ।  सप्तरी बलानविहुल गाउँपालिका वडा नम्बर १ बलान पट्टी स्थित पूर्वपश्चिम हुलाकी मार्गदेखी अन्दाजी १५० मीटर उत्तरतर्फ परालले छोपिएको अवस्थामा  शनिबार उक्त लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । 
लागूऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विषेश सूचनाको आधारमा प्रहरी चौकी मौवाहाबाट प्रहरी सहायक निरीक्षक हेमन्त तामाङ नेतृत्वमा प्रहरी टोली खटी गई खोजतलास गर्दा बालनपट्टी ( कमलदाहा) स्थित खेतमा रहेको परालको थुप्रोमा लुकाई छिपाईराखेको अवस्थामा गाँजा नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।  
बरामद गाँजा जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको तथा बरामद गाँजा नष्ट गरिने पत्रकार सम्मेलनमा एसपी ढकालले बताए । एसपी ढकालले गाँजा तस्करहरुको खोजीका लागि सूक्ष्म अनुसन्धान अगाडि बढाएको तथा संलग्नहरु चाँडै पक्राउ पर्ने विश्वास व्यक्त गरे । 
उक्त अवसरमा डिएसपी जितेन्द्र कुमार बस्नेत, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवसहित विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकृतहरुको समेत उपस्थिति थियो । 
सप्तरीमा प्रहरी प्रमुख ढकाल र डिएसपी बस्नेत आएपछि धमाधम ठुलो परिणाममा गाँजासहित अन्य लागूऔषध बरामद हुन थालेको छ ।