• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जागरण अभियानले तामाङ संस्कार र संस्कृति जगेर्नामा टेवा पुगेको छ : उपाध्यक्ष लामा

जागरण अभियानले तामाङ संस्कार र संस्कृति जगेर्नामा टेवा पुगेको छ : उपाध्यक्ष लामा
न्यूज टुडे
राजविराज, २७ पुस । 
नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष धर्म डुम्जन लामाले तामाङ जागरण तथा ल्होछार साँस्कृतिक अभियानले तामाङ संस्कार र संस्कृति जगेर्नामा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपाल तामाङ घेदुङ सप्तरीद्वारा सप्तरीको  खडक नगरपालिका ७ स्थित मझौमा सोमबार आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
खडक नगरपालिका ७ स्थित आयोजित अभियानमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै उपाध्यक्ष लामाले  जिल्ला घेदुङले स्थानीय तहमा संचालन गरेको तामाङ जागरण तथा ल्होछार साँस्कृतिक अभियान  उदाहरणीय रहेको बताए ।  अभियानले तामाङ समुदायको संस्कार र संस्कृति जगेर्नामा मदत पुग्ने विश्वास गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले जिल्ला घेदुङको प्रशंसा गरे । 
अभियान संचालन गरेकोमा खुशी व्यक्त गर्दै घेदुङका मधेस प्रदेश इन्चार्ज समेत रहेका उपाध्यक्ष लामाले अभियानको उदेश्य प्राप्तिका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।उनले ल्होछार पर्वलाई हर्सोल्लासकासाथ मनाउन  तामाङ समुदायलाई आग्रह गरे ।  उपाध्यक्ष लामाले तामाङ समुदायलाई सोनाम ल्होछारको पहिलो दिनदेखि श्रीपञ्चमीसम्म पाँचदिन मान्यजनको हातबाट टीका खदा ग्रहण गरि ल्होछार मनाउन आग्रह गरे ।
संघीय सदस्य भिम घिसिङले ल्होछार पर्व तामाङ जीवनको अभिन्न चाड भएकोले यसलाई विधिपूर्वक मनाउनु पर्नेमा जोड दिए ।  ल्होछारको औचित्यता ,महत्त्व र विशेषता बारे चर्चा गर्दै उनले ल्होछार मान्नले परिवारमा सुख,शान्ति, समृद्धि तथा सधै भलो हुने उल्लेख गरे ।
खडक नगरपालिका  २ स्थित आधारभुत विद्यालय मझौको प्राङ्गणमा नगर अध्यक्ष सुर्यमान गोलेको अध्यक्षतामा आयोजित जागरण अभियानमा घेदुङका पूर्व केन्द्रीय सदस्य खड्ग बहादुर तामाङ, लामा घेदुङ्गका केन्द्रीय सदस्य निमादोर्जे लामा,  पूर्व जिल्ला अध्यक्ष सन्तमान गोले, जिल्ला सचिब डिक बहादुर मोक्तान, जिल्ला सदस्य अशोक कुमार योन्जन, मान बहादुर योन्जन , सीता बम्जन तामाङ, किरात राई यायोख्खा सप्तरीकी कोषाध्यक्ष उर्मिला राई, नेपाल तामाङ विद्यार्थी घेदुङ मधेस प्रदेशकी उपाध्यक्ष मन्दिरा योन्जन , नेपाल तामाङ साँस्कृतिक घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर तामाङ,अग्नीसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष भक्त बहादुर तामाङ, रुपनी गाउँपालिकाकी अध्यक्ष भद्र कुमारी लामा लगायतका विभिन्न स्थानीय तहका अध्यक्षहरु तथा तामाङ अगुवाहरुको साथै विभिन्न संघसंस्थाका स्थानीय पदाधिकारीको उपस्थिति रहेको थियो । 
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष सरिता तामाङले गरिन भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङले अभियानको उदेश्य बारे प्रकाश पारे । 
अभियान अन्तर्गत साँस्कृतिक कार्यक्रम तथा ल्होछार पर्व सम्बन्धि विज्ञहरुबाट विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान सिंदन तामाङले बताए । 
तामाङ समुदायको प्रमुख साँस्कृतिक पर्व २८६१ औं सोनाम डुल ल्होछार ( सर्प) बर्ष माघ १७ गते परेको हुँदा तामाङ समुदायलाई ल्होछारको विशेषता र महत्व बारे जनजागरण गराउने उदेश्यले ल्होछार साँस्कृतिक जागरण अभियान संचालनमा ल्याएको उनले जानकारी दिए  ।
अध्यक्ष तामाङका अनुसार पुस १८ गते सप्तकोशी नगरपालिकाबाट सुरु भएको अभियान २९ गते सुरुङ्गा नगरपालिका २ स्थित बाउन्न कोल्टेमा पुगेर समापन हुने छ । 
अभियान अन्तर्गत पुस १८ गते सप्तकोशी नगरपालिका, १९  गते कञ्चनरुप नगरपालिका, पुस २० गते अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ मोहनपुर, २२ गते अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजार , पुस २३ गते रुपनी गाउँपालिका, पुस २५  गते शम्भुनाथ नगरपालिका, पुस २६ गते राजविराज नगरपालिका, पुस २७ गते खडक नगरपालिका, पुस २९ गते सुरुङ्गा नगरपालिकामा अभियान संचालन हुने अध्यक्ष तामाङले जानकारी दिए