न्यूज टुडे
राजविराज, २१ मंसिर ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ मा प्रथम वडा अध्यक्ष पच शिल्ड फुटबल प्रतियोगिता संचालन गरिएको छ ।अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २को आयोजना तथा अग्नीसाईर युवा क्लबको सह आयोजनामा फुटबल प्रतियोगिता संचालन गरिएको हो ।
अग्नीसाइर युवा क्लब वडा नम्बर २ का अध्यक्ष राम कुमार चौधरीको अध्यक्षतामा आयोजित एक समारोहका वीच शुक्रबार प्रमुख अतिथि अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पानसमा बत्ती बालेर फुटबल प्रतियोगिता उद्घाटन गरे ।
प्रतियोगिता उद्घाटन समारोहमा गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरी, पूर्व उपाध्यक्ष मिना चौधरी,नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिब तुलसी थारु, अग्नीसाइर कृष्णासवरन वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरीलगायतका कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा गेड सिंह युव क्लब चिम्टी अगाडि विजयी भएको छ । डाँफे युवा क्लब सिद्धपुर फत्तेपुरलाई ०-३ गोलले पराजित गर्दै चिम्टी अगाडिले जित हाँसिल गरे
प्रतियोगितामा गेड सिंह युव क्लब चिम्टी अगाडि, डाँफे युवा क्लब सिद्धपुर फत्तेपुर, महुली मोहनपुर एफसी महुली, शम्भुनाथ युवा क्लब शम्भुनाथ, अग्नीसाइर युवा क्लब वडा नम्बर २, श्री नव दुर्गा युवा क्लब मोहनपुर हरकट्टी, एमसीसी युव क्लब समशेरपुर धाती, श्री भुवनदास युवा क्लब भुवनपट्टी गरि ८ वटा टिम सहभागी रहेका छन् ।
प्रतियोगितामा विजेता टिमलाई रु २५ हजार र उपविजेता टिमलाई रु १५ हजार नगद पुरस्कारसहित शिल्ड, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरीने आयोजक समितीकी कोषाध्यक्ष संतोषी चौधरीले जानकारी दिइन् ।
इटहर्वा खेलमैदानमा आयोजित प्रतियोगितामा शनिबारको खेल आयोजक अग्नीसाइर युवा क्लब वडा नम्बर २ र श्री नवदुर्गा युवा क्लब मोहनपुर हरकट्टी वीच हुने आयोजक समितिकी सचिव लक्ष्मीदेवी यादवले जानकारी दिइन् ।
कार्यक्रम संचालन चर्चित उद्घोषक प्रवीण कुमार चौधरीले गरेका थिए ।