न्यूज टुडे
राजविराज,२० मंसिर ।
सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको मानवसेवा आश्रमले कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि आर्थिक र भावनात्मक सहयोग जुटाउने उद्देश्यले सुर्खेतमा आयोजना गर्न लागेको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८१ को तयारी पूरा भएको छ । सहयोगापेक्षी सडकआश्रित मानवहरूको सेवा स्थायीत्वको लागि कर्णाली प्रदेशको आफ्नै भवन निर्माणार्थ महायज्ञको शुक्रबार आयोजित एक समारोहका वीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्ने आयोजकले जनाको हो ।
मानवसेवा आश्रम सुर्खेत सेवाकेन्द्रले हालसम्म कर्णाली प्रदेशका १० जिल्लाबाट ४ सय १५ जनाभन्दा बढी बेसाहारा, असहाय र सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरी सेवा प्रदान गरिसकेको छ ।
महायज्ञ मूल समारोह समितिका संयोजक डा. नवराज केसीकाअनुसार महायज्ञ अवधिको समयमा संकलन भएको रकमले देउती बज्यै धार्मिक वनमा मानवसेवा आश्रमको भवन निर्माण गरिनेछ । केसीले आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले १८ हेक्टरभन्दा बढी जग्गा उपलब्ध गराएको डा. केसीले बताए । भवन निर्माणका लागि आवश्यक आर्थिक र भावनात्मक सहयोग जुटाउँदै महायज्ञ विशेषगरी आश्रयविहीनहरुलाई आश्रय दिने उेद्दश्यका साथ आयोजना गरिएको उनले बताए।
महायज्ञ मंसिर २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने कार्यक्रम तय भएको छ । साथै भोलि बिहान ९ बजे बुलबुले उद्यानबाट बाजागाजा, सांस्कृतिक झाँकी, शंखनाद, भजनकिर्तन सहित विशाल शोभा कलश यात्राबाट नगर प्रक्रिया गरी महायज्ञको उद्घाटन गरिने आयोजकले जनाएको छ ।
महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले मानवीय सेवाका थप टेवा पुर्याउन निःशुल्क गर्ने भएको छ । आश्रमका अनुसार गौतमले यस अघि सम्मपन्न गरेका पाँचवटा महायज्ञ वापत पनि कुनै शुल्क लिनु भएको छैन । यो यहायज्ञ आश्रमका लागि उनको छैटौँ महायज्ञ हो ।
महायज्ञमा कर्णाली प्रदेशमा भएका धार्मिक एवम् पर्यटकीय स्थलहरूको समेत फोटो प्रदर्शनी गरिनेछ । सहयोग जुटाउने र महायज्ञको सफलताका लागि २५ वटा उप–समितिहरू गठन गरिएको थियो । यी समितिहरूले सेवा र कार्यक्रमको सहजीकरणको लागि कार्य गर्दैछन। यज्ञमा प्रदेश र जिल्लाका प्रमुख एवम् प्रतिनिधिहरूलाई संरक्षक र अभिभावक परिवारमा मनोनयन गरिएको छ ।
यसका साथै मानव सेवा आश्रमका ७ प्रदेशका १९ जिल्लामा रहेका २५ सेवा केन्द्रबाट ३० जना अभियन्ता महायज्ञको आयोजनामा जुटिरहेका छन् । सुर्खेत सेवाकेन्द्रले २०७५ सालको माघ १८ गतेदेखि सर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ स्थित भाडाको घरमा सेवा शुभारम्भ गरेको थियो । भाडाको घरबाट सेवा दिँदै आइरहेको सुर्खेत सेवाकेन्द्रले हालसम्म ४ सय १५ भन्दा बढी सहयोगापेक्षी मानवहरुको उद्धार गरिसकेको आश्रमले जनाएको छ ।
महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने र प्रत्येक दिन ५ हजार दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।
यस्तै महायज्ञ अवधिभर स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। जसमा वरिष्ट फिजिसिएन डा. के.एन पौडेललगायतको टिमबाट वरिष्ठ हाडजोर्नी रोग डा.रुपक कँडेल, डा.किशोर विष्ट, डा.शुभ श्रेष्ठलगायतको टिमबाट स्वास्थ्य सेवा दिने भएको छ भने आयुर्वेद अस्पतालबाट डा. शंकर रिजालको टिमलगायत अन्य स्वास्थ्य परिक्षण निःशुल्क हुने भएको छ ।
त्यस्तै महायज्ञ अवधिभर प्रत्येक दिन बिहान ५–७ बजेसम्म योगको कार्यक्रम गरिनेछ । ७–९ बजेसम्म प्लस टु तहका विद्यार्थीहरुलाई योग, प्रणायम, ध्यानको महत्वको बारेमा मानवता प्रवद्र्धन प्रशिक्षण दिइने छ । ९–११ सम्म ८, ९, १० कक्षाका विद्यार्थी, त्यसपछि बेलुका ४ बजेसम्म कथा वाचन र त्यसपछि ८ बजेसम्म स्थानीय तथा बाहिरबाट आएका कलाकारबाट भजनको कार्य हुनेछ ।
दाता र सम्मान कार्यक्रम
महायज्ञ मूल आयोजक समितिकाअनुसार ५ सय देखि १ करोडसम्मको योगदान गर्नेलाई सम्मान गरिने छ। १ करोडको योगदान गर्नेको मानवसेवा आश्रमको कम्पाउण्डभित्र निर्माण हुने कुनैपनि ब्लकको नामकरणसहित दाताको अर्धकदको शालिक निर्माण गरिने बताइएको छ ।
५१ लाख ५१ हजारसम्म योगदान गर्नेलाई आश्रमको सभाकक्ष निर्माण गरी सोही कक्षमा शिलालेख गरिने छ भने ३१ लाखसम्म योगदान गर्नेको आश्रमको भान्सा र भोजन कक्षको नामकरण गरी सोही कक्षमा शिलालेख राखिनेछ ।
०८२ मा सडक आश्रित मानवमुक्त राष्ट्र घोषणाको लक्ष्य
मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी रहेको बताएको छ। त्यो अवधिसम्म देशभर खुला आकाशमुनी रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गरिने मानवसेवा आश्रमले जनाएको छ ।
महायज्ञमा कथा प्रवचनसँगै ख्याति प्राप्त स्थानीय तथा राष्टिय कलाकारहरूबाट गीत, भजन, देव लीला नृत्यलगायतका विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरिनेछन् । यसैगरी कलाकार किरण केसी, शिवहरी पौडेल, वरिष्ठ पत्रकारहरू टिकाराम यात्री, राजेन्द्र बानियाँ, दिलभूषण पाठक, डाक्टर सन्दुक रुइत, कलाकार हरिवंश आचार्य, कृष्ण कँडेलल लगायतका व्यक्तिहरु पनि सहभागी रहनेछ ।