न्यूज टुडे
राजविराज, २० मंसिर ।
सप्तरीको सुुरुङ्गा, खडक, शम्भुनाथ, कञ्चनरुप, सप्तकोशी नगरपालिका र रुपनी, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको उत्तरी क्षेत्रमा जंगली हात्ती आतंकले स्थानीयबासी त्रसित भएका छन् । कोशी टप्पु बन्यजन्तु आरक्षण केन्द्रबाट आएको जंगली हात्तीको समुहले घर भत्काउने र अन्नबालीमा नष्ट गर्न थालेपछि स्थानीयबासी त्रसित भएका हुन् ।
साँझ पर्नसाथ दर्जनौंको संख्यामा आएका जंगली हात्ती आहारको खोजीमा बस्तीमा पसेर घर भत्काउने र किसानले लगाएको अन्नबाली, तरकारी खेती, फलफुल खाएर र कुल्चिएर नष्ट गर्ने गरेको स्थानीयले बताएका छन् ।
एकमहिनादेखि हात्तीको समुहले उपद्रो मच्चाउँदा समेत नियन्त्रणतर्फ सरोकारवालाहरुले चासो नदिएको स्थानीयले गुनासो गरे । हात्ती दिएको दुख बारे स्थानीय सरकार तथा सरोकारवाला निकायमा जानकारी गराउँदा समेत सुनुवाइ नभएको स्थानीयको आरोप छ ।
यसैगरी सुरुङ्गा नगरपालिका वाड ६ श्रीपुर गाउँमा बुधबार २ वटाको समुहमा आएको हात्तीले उमाकान्त चौधरीको घर भत्काएर क्षति पुर्याएको छ । तीन वर्ष देखि हात्तीले घरको टाट (वाल) तोडफोड गरि अन्नपात खाने र नष्ट गर्दा समेत आफुले पाएको समस्यामा कतैबाट सहयोग नभएको पीडित चौधरीले बताए ।हात्तीले ८ पोका चामल, १ बोरा धान र पिठो समेत खाएर क्षति पुर्याइएको उनले जानकारी दिए ।
यसैगरी स्थानीय बहादुर चौधरीको घरमा पनि हात्तीले क्षति पुर्याएको स्थानीय दिनेश चौधरीले जानकारी दिए।
हात्तीले बर्षेणी धनजनको क्षति गर्दा समेत हात्ती नियन्त्रण तर्फ सरकारले कुनै ठोस रणनीति ल्याएका छैन । हात्ती आतंकका कारण ज्यान जोखिमपूर्ण बनेपछि त्यस क्षेत्रका बासिन्दाहरु रातभर जाग्राम बस्न बाध्य छन् ।