न्यूज टुडे
राजविराज, १७ मंसिर ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले मंसिर १६ गते सार्वजनिक गरेको सप्तरी शाखाको सदस्यता सूचीप्रति प्रेस मञ्च नेपाल सप्तरीले आपत्ति जनाएको छ । प्रेस मञ्च नेपाल शाखा सप्तरीका अध्यक्ष भुषणकुमार सिंहको अध्यक्षतामा राजविराजमा सोमबार सम्पन्न बृहत बैठकले सप्तरी शाखामा १६ मंसिरमा आएको सदस्यता सूची बमोजिम निर्वाचन गराउन खोजिए प्रेस मञ्च संघर्षमा जाने निर्णय गरेको हो ।
प्रेस मञ्च नेपाल सप्तरीले २०७७ को अधिबेशन सहभागी गराएका सदस्यहरुलाई सहभागी गराएर निर्वाचनमा जान आग्रह गरेको छ ।
‘महासंघ शाखा सप्तरीले पछिल्लो अधिवेशनमा सहभागी गराइएका सदस्यहरुलाई नै सहभागी गराएर तोकिएको मितिमा निर्वाचनमा जाँदा प्रेस मञ्चलाई स्वीकार्य हुन्छ’ प्रेस मञ्च सप्तरीका अध्यक्ष भूषण कुमार सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अन्थया, हैकम प्रवृत्तिबाट गरिएको सदस्यता शुद्धीकरण बमोजिम केन्द्रबाट सप्तरी शाखामा १६ मंसिरमा आएको सदस्यता सूची बमोजिम निर्वाचन गराउन खोजिए प्रेस मञ्चले त्यसको विरोधमा संघर्षमा जान बाध्य हुने चेतावनी समेत यही विज्ञप्ती माफर्त सम्बद्ध पक्षलाई जानकारी गराउन चाहन्छौं ।’
महासंघ सप्तरीले सदस्यता सुद्वीकरण मापदण्ड
विपरीत षड्यन्त्रपूर्वक अध्यक्ष निकट संगठनबाहेकलाई मात्रै शुद्धीकरणमा पार्ने काम गरेको भन्दै मञ्चद्वारा घोर आपत्ति व्यक्त गरेका छन् ।
‘नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणका लागि १५ बुँदे मापदण्ड निर्धारण गरेर अभियान नै चलाएको र त्यस अभियानमा प्रेस मञ्च नेपाल, सप्तरी सधैं समर्थनमा रहेको तथ्य जगजाहेर नै छ ‘ विज्ञप्तिमा भनिएको छ, ‘तर, पछिल्लो पटक सार्वजनिक भएको सदस्यताको सूचीले महासंघ शाखा सप्तरीमा प्रेस युनियनबाट प्रतिनिधित्व गरिरहेका शाखा अध्यक्ष श्रवणकुमार देवले सप्तरीमा शुद्धीकरणको निर्धारित मापदण्डलाई लत्याउँदै मनपरीतन्त्र, राजनीतिक द्वेष र षड्यन्त्र गरेर राजनीतिक आस्थाका आधारमा आफ्ना निकट बाहेककालाई मात्रै शुद्धीकरणमा पार्ने काम गरेको प्रेस मञ्च नेपाल, सप्तरीको ठहर छ ।’
‘निर्धारित मापदण्ड बमोजिम देशैभर पारर्दशिताका साथ सदस्यता शुद्धिकरण कार्यान्वयन भयो भने प्रेस मञ्चले सिरोहार्य गर्दै स्वीकार गर्ने भनि यसअघि पनि विज्ञप्तिमार्फत अवगत गराएकै थियौं । तर, मधेश प्रदेशमा मात्रै बहुसंख्यक रुपमा सदस्यता शुद्धीकरणको मापदण्ड अगाडि बढाएपनि काठमाडौंसहित अधिकांश जिल्लामा दलगत नै गरिएको अवस्था छ । जसकारण यसअघि नै महासंघका केन्द्रीय अध्यक्ष र त्यसपछिका काबा अध्यक्षले राजीनामा दिएको पनि छर्लङ्ग छ ।’ अध्यक्ष सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, “त्यसैले, महिनौं लगाएर सदस्यता शुद्धीकरण मापदण्डअनुसार काम गर्न नसक्नु र पटक–पटक सार्वजनिक गरिएका सदस्यता सूचीमा समेत कुनै शुद्धीकरण मापदण्ड कार्यान्वयन गर्न नसक्नु जस्ता कमजारीले सदस्यता विवाद टुंगो लाग्दैन र तोकिएको निर्वाचन पनि प्रभावित नै हुने हो । तसर्थ, महासंघ शाखा सप्तरीले पछिल्लो अधिवेशनमा सहभागी गराइएका सदस्यहरुलाई नै सहभागी गराएर तोकिएको मितिमा निर्वाचनमा जाँदा प्रेस मञ्चलाई स्वीकार्य हुन्छ ।”
‘अन्थया, हैकम प्रवृत्तिबाट गरिएको सदस्यता शुद्धीकरण बमोजिम केन्द्रबाट सप्तरी शाखामा १६ मंसिरमा आएको सदस्यता सूची बमोजिम निर्वाचन गराउन खोजिए प्रेस मञ्चले त्यसको विरोधमा संघर्षमा जान बाध्य हुने चेतावनीसमेत यही विज्ञप्ती माफर्त सम्बद्ध पक्षलाई जानकारी गराउन चाहन्छौं ।’ प्रेस मञ्च नेपाल सप्तरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसैगरी प्रेस मञ्च नेपाल केन्द्रीय समितिले समेत सदस्यता विवाद टुंगो नलगाई निर्वाचनमा गए प्रतिकार गर्ने चेतावनी दिएको छ । काबा अध्यक्ष मनोज कुमार यादवले सोमबार एक प्रेस विज्ञप्तिजारी गर्दै यथास्थितिमै चुनावमा जाने प्रयास गरिए प्रतिकारका लागि तयारी हुन मातहतका शाखाहरुलाई निर्देशन दिएका छन् ।