• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार यादवले लगाएको धानबाली लुटपाटको दोश्रो प्रयास

पत्रकार यादवले लगाएको धानबाली लुटपाटको दोश्रो प्रयास
न्यूज टुडे
राजविराज , १५ मंसिर । 
सप्तरीको रुपनी गाउँपालिका १ निवासी पत्रकार नर्मदेव यादवले लगाएको धानबाली लुटपाटको दोश्रो प्रयास पनि विफल भएको छ । स्थानीय जोगिन भन्ने योगेन्द्र यादवकी श्रीमती पुनम कुमारी यादवको नेतृत्वमा रहेको ५ /६ जनाको समुहले शनिबार पत्रकार यादवको धानबाली लुटपाट गर्ने दोश्रो प्रयास गरेको हो । 
साविक रायपुर-८ (ख) कित्ता नम्बर ६९ क्षेत्रफल ६ कट्ठामा आफुले लगाएको धानबाली छिमेकी पुनमको नेतृत्वमा शनिबार विहान आएको समुहले लुटपाटको प्रयास गरेको पत्रकार नर्मदेव यादवले बताए । यादव नेतृत्वको समुह धानखेतमा पसेर काटेको धान उठाउन थालेपछि प्रहरीलाई खबर गर्दा इलाका प्रहरी कार्यालय रुपनीका इन्चार्ज प्रहरी नायव निरीक्षक पुलकित यादवको नेतृत्वमा प्रहरी टोली पुगेर उनीहरुलाई रोकेको पत्रकार यादवले जानकारी दिए । 
प्रहरीले छ्लफलकै अवस्था रहेकाले तत्काल धान काट्न र उठाउन  नपाइने भन्दै इलाका प्रहरी कार्यालय रुपनीमा दुबैपक्षलाई उपस्थिति हुन भनी आफू गएको बेला प्रहरीको आदेशलाई समेत अटेरी गरी खेतमै काटेर राखिएको १० /१५ बिटो धान उनीहरूले लगेर गएको पत्रकार यादवले आरोप लगाए । उक्त समुहले २ कठ्ठा बराबरको धान लुटपाट गरेर लगेको उनको  आरोप छ । 
इलाका प्रहरी कार्यालय रुपनीमा छलफल हुँदा सहमति नजुटेपछी शुक्रवार दुबै पक्षलाई पत्रसाथ जिल्ला प्रहरी कार्यालय पठाएपनि योगेन्द्र उपस्थित नभएको उनले बताए । 
योगेन्द्रको भाइ विरेन्द्र यादव जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई जसले धान लगाएको हो उसैले उठाउने र धान उठाएपछि विवाद समाधान नहुन्जेल कसैलेपनि उक्त खेतमा बालिनाली लगाउन नपाउने सहमति कागज लेखिएपनि एकपक्षले सहीछाप गरेपनि योगेन्द्र पक्षले सहीछाप गर्न नमानेको  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव निरीक्षक शेर बहादुर पराजुलीले जानकारी दिए । 
सहमति लेखाउन लगाएर योगेन्द्रको भाइ विरेन्द्रले शनिबार विहानै दाजुलाई लिएर आउने भनी गएपनि शनिबार साँझसम्म पनि उपस्थित नभएको उनले बताए।
पत्रकार यादवका अनुसार उक्त जग्गा योगेन्द्रकोमा २०७२ सालमा बन्धकी राखी ३ लाख ४० हजार ॠण लिएको तथा ऋण चुक्ता गर्दा समेत जग्गा फिर्ता गर्न आलटाल गर्दै आएका छन् । मुद्दा मामला र गाउँसमाजको पटकपटकको प्रयासमा जग्गा फिर्ता दिन तयार भएर सावा ब्याज सहित १० लाख २१ हजार योगेन्द्रका बुवा रामदेव यादवको नाममा रहेको बैक खातामा पैसा जम्मा गर्दा समेत जग्गा फिर्ता नगरेको पत्रकार यादवले बताए । 
उनले त्यसपछि योगेन्द्र यादवले रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवलाई छलफल गरिदिन भनेपछि पुरानै सर्त अनुसारको जग्गा फिर्ता गर्ने सहमति अनुसार योगेन्द्रको बुवालाई ५ लाख दिएको बताए । 
‘गाउँपालिका अध्यक्ष यादवको रोहवरमा भएको सहमतिकै आधारमा मालपोत कार्यालयमा ९ लाख ९५ हजारको लेखत कागज गाराएँ’, उनले भने,’योगेन्द्रको घरमा पुगेर कागज देखाएँ, रकम बढी भयो ३ लाख ५० हजारको बनाएर ल्याउन भनेपछि फेरी सोही अनुसारको २०८१ साउन १५ गते लेखत गराएर ल्याएँ तर उनले त्यसलाई पनि इन्कार गर्‍यो।’
जग्गा बैमानी गर्ने नियत योगेन्द्रले देखाएपछि जिल्ला प्रहरी कार्यालयमा मिटर व्याजी जाहेरी दिंदा बेन्चले छलफलका लागि पटकपटक आउन आदेश गर्दा उपस्थित नभएको पत्रकार यादवले जानकारी दिए । 
इलाका प्रहरी कार्यालय रुपनीका इन्चार्ज पुलकित यादवले पत्रकार यादवको धानखेतमा ५/ ६ जना महिला गएर खेतको आलिमा बसेको भेटिएको बताए ।  धानकाट्ने विषयमा छ्लफल जारी रहेकाले टुंगो नलागेसम्म दुबैपक्षले काट्न नमिल्ने भनेपछि उनीहरु घरतर्फ गएको उनले जानकारी दिए । 
आरोपित  योगेन्द्र यादवले धान काट्न गएको स्वीकार गर्दै आफू आफ्नै खेतमा लगाएको धान उठाउन गएको जिकिर गर्दै आएका छन् । पत्रकार यादवले आफुमाथि लगाएको आरोप निराधर रहेको बताउँदै उनले  धानबाली आफ्नो भएको दाबी गर्दै आएका छन् ।