न्यूज टुडे
राजविराज, १५ मंसिर ।
सप्तरीको राजविराजमा मधेस प्रिमियर लिग (एमपीएल) सिजन -३ क्रीकेट प्रतियोगिता हुने भएको छ । मधेस प्रिमियर लिग (एमपीएल) आयोजक समितिद्वारा राजविराजमा शनिबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष इन्जिनियर संजिव नारायण यादवले २०८१ चैत ०५ गते राजविराजमा प्रतियोगिता उद्घाटन गरिने बताए । प्रतियोगिता मधेसको मुख्य शहर राजविराज, जनकपुर र वीरगञ्जमा गर्ने योजना बनाएको उनले जानकारी दिए ।
एमपीएलका लागि मंसिर १५ गतेदेखि पुस १५ गते सम्म खेलाडी दर्ता आव्हान गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले बताए । प्रतियोगिता सञ्चालन गर्दा १ करोड खर्च हुने अनुमान गरिएको उनले बताए।
आफुहरुको प्रस्ताव अनुसार मधेस प्रदेश सरकारले मधेस प्रिमियर लिग( एमपीएल) क्रीकेटका लागि ५० लाख बजेट विनियोजन गरेकोले उक्त रकम माँग गर्ने तथा अपुग बजेटका लागि विज्ञापनदाता र विदेशमा हुने क्रीकेट प्रेमी नेपालीबाट सहयोग जुटाइने अध्यक्ष यादवले जानकारी दिए ।
उनले सात बर्षपछी एमपीएल क्रीकेट हुन लागेकोले सहयोगका लागि प्रदेश सरकार, स्थानीय तह, क्रीकेट संघ, विज्ञापनदाता, संचारकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि तथा क्रीकेट प्रेमी सम्पूर्णलाई सहयोगका लागि आग्रह गरे ।
प्रतियोगिता राष्ट्रिय खेलाडीहरु सहभागी भएको देशभरका १० वटा टिम वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । खेल प्रेमीहरुका लागि न्युनतम रकम तोकिएको टिकटको व्यवस्था गरिने अध्यक्ष यादवले बताए ।
पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष, सचिबलगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।