दैनिक १५ रुपियाँ खाजा खर्चबापतको रकम सरकारले दिएपछि सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई खाजा खुवाउने गरिएको छ ।
अति न्यून रकम दिएका कारण बालवालिकालाई खाजा दिन पनि महाभारत सरह रहेको विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् । रकम नै अति न्यून रहेको,त्यसमाथि खाजा बापतको रकम पनि समयमा नआउने गरेका कारणले झनै समस्या पर्ने गरेको सप्तरीका सामूदायिक विद्यालयहरु मध्येका धेरै प्रधानाध्यापकहरुको गुनासो छ । एक त रकम अति न्यून,त्यसमाथि रकम समयमा नआउने गरेपछि कसरी काम चलाउने भन्ने चुनौति नै खडा भएको छ । विद्यालयमा विद्यार्थीको उपस्थिति उसै पनि कम रहेका कारण तिनलाई विद्यालयमा आकर्षण पैदा गर्नकालागि खाजा पनि एक माध्यम रहन्छ भन्ने कुरालाई अस्वीकार गर्न सकिँदैन । तर यो उपयुक्त परिमाण तथा गुणस्तरको चाहिँ हुनै पर्दछ । कतिपय विद्यालयमा खाजा पनि समयमा नदिने भनि समाचार आउने गरेका छन् । त्यसैले यसलाई पहिला व्यवस्थित तुल्याउनु पर्ने आवश्यकता रहन्छ । विद्यालयमा बालवालिका नटिक्ने,वीचमै कक्षा छाड्ने जस्ता कुरा पटक पटक उठ्ने गरेका छन् । त्यसमाथि दिएको खाजामा पनि कटौति गर्ने,नियमित नदिने हो भने विद्यार्थीमा यसले नैराश्यता नै पैदा गर्नेमा आशंका रहन्न होला । खाजामा गरिएको १५ रुपियाँको व्यवस्थामा बृध्दि गरेर त्यसलाई नियमित तुल्याउने विषयमा चासो लिन सकियो भने मात्र यसले बालवालिकामा आकर्षण पैदा गर्न सक्दछ ।
बालवालिका भनेको भविष्यका कर्णधार रहेका कारण सुबिधा कटौति होईन, उनीहरुमाथि उचित लगानी गर्न आवश्यक छ ।