न्यूज टुडे
राजविराज, १५ मंसिर ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजारका २४ बर्षीय युवक दुइहप्तापछी सकुशल भेटिएका छन् । स्थानीय तुरित प्रसाद चौधरीको छोरा सचिदानन्द कुमार चौधरी शुक्रबार सकुशल भेटिएका हुन् ।
गत मंसिर ४ गते मंगलबार साँझ ७ बजेको समय घरदेखि निस्किएर सम्पर्क विहीन छोरा शुक्रबार राति घर आइपुगेको आमा मञ्जु कुमारी चौधरीले बताइन् । इलाका प्रहरी कार्यालय कंचनपुरमा हुलिया समेत दिएर १४ दिनदेखि आफन्तजनहरु भएको सबै ठाउँमा खोजी गर्दा समेत नभेटिएको छोरा बिहीवार सिटी चालकको सम्पर्क पुगेपछि घरमा ल्याइदिएको उनले बताइन् ।
‘मंसिर ४ गते साँझ ७ बजे घरदेखी निस्किएको छोरा राजविराज स्थित झल्ही फर्सेटका सिटी चालक विरेन्द्र चौरसियाको सम्पर्कमा पुगेछ ’, मञ्जुले भनिन्,’ चौरसियाले फोन गरेर तपाइँको छोरा मेरो घरमा आएको छ, विथाह बोल्छन् दिमागले काम नगरेको जस्तो छ, लिन आउनु भन्यो, हामीले घरमा ल्याइदिनु अनुरोध गरेपछि छोरालाई शुक्रबार रातीनै घरमा ल्याइदियो।’
उनले छोरा हराएको दिनदेखि चुल्होमा आगो समेत नबलेको र सम्पुर्ण परिवार चिन्तामा डुवेको दुखेसो सुनाउदै छोरा भेटिएपछि परिवारमा खुशी आएको बताइन् ।
‘छोरा हराएको दिनदेखि पेटमा अन्नको दानो परेको थिएन’ गहभरी खुशीको आँसु चुहाउँदै उनले भनिन्,’घर बाहिरा कहिले नबसेको छोरा १४ दिनपछि एक्कसी फेला पर्दा उनले पाएको दुख सम्झेर आँसु थाम्नै सकिनँ।’
उनले बेपत्ता छोराको खोजतलासमा सहयोग गरीदिने सिट चालक, स्थानीय प्रहरी प्रशासन, पत्रकार तथा प्रत्येक्ष, अप्रत्यक्ष रुपमा सहानुभूति प्रदान गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरिन ।
बेपत्ता युवक चौधरीले आफू काँहा छु भन्ने थाहा नपाएको र गाउँघरमा माग्दै खाँदै हिड्दा सिटी चालकको सम्पर्कमा आएपछि परिवारसंग भेटाउन मद्दत गरेको बताए ।