न्यूज टुडे
राजविराज, १४ मंसिर ।
राजविराज-रुपनी सडकखण्ड अन्तर्गत सप्तरीको राजविराज नगरपालिका ९ मलेठमा शुक्रबार दुईघण्टा चक्काजाम गरिएको छ । सडक निर्माण तथा धुलो नियन्त्रणको माग गर्दै साँझ ४ बजेदेखि ६ बजेसम्म स्थानीयले सडक अवरुद्ध गरेको हो ।
सडकमा टायर बालेर स्थानीयले विरोध प्रदर्शन गरेपछि उक्त बाटो भएर चल्ने सवारी साधनहरु बाटोमै रोकिएको थियो । भत्काएर छोडिएको सडकमा धुलो उड्न नदिन ठेकेदारलाई पानीको व्यवस्था गर्न लगाउने, सडक निर्माणको कार्य तुरुन्तै सुरु गराउने र तत्काल चक्काजाम खोल्ने स्थानीय प्रशासन र स्थानीयबासी वीच सहमतिपछि अवरुद्ध सडक साँझ ६ बजे खोलिएको स्थानीय रामचन्द्र यादवले बताए ।
निर्माण कम्पनीले सडक भत्काएर छोडेपछि सवारी-साधन आवतजावत गर्दा धुलो उडेर घरभित्रै परेर समस्या भएपछि पानीको व्यवस्था गर्न माग राखी आन्दोलनमा उत्रिनु परेको स्थानीय सचिन साहले बताए । सडक अलपत्र छोड्दा प्रदुषण बढेर पर्यावरण विग्रीएकोले धुलो नियन्त्रणका लागि ठेकेदारलाई पटकपटक भन्दा पनि सुनुवाइ नहुँदा संघर्षमा उत्रिएको स्थानीय युवा शैलेन्द्र यादवले बताए ।
ठेकेदार संजीव साहलाई आफुहरुको समस्या बारे ध्यानाकर्षण गराउँदा मोबाइल अफ गरेर बस्ने गरेको स्थानीय राज कुमार यादवले आरोप लगाए ।
स्थानीयले बिहिवार समेत पानीको व्यवस्था र सडक निर्माणको माग राखी दिउँसो १ बजेदेखि साढे १ बजेसम्म टयर बालेर आधाघण्टा सडक अवरुद्ध गरेका थिए ।