न्यूज टुडे
राजविराज,१४ मंसिर ।
नेपाल समाचार समिति ( रासस) का अध्यक्ष धमेन्द्र झाले राससको सवलीकरण गर्ने नीतिकासाथ मातृभाषामा सेवा विस्तार गरेको बताएका छन् । सप्तरीको राजविराज स्थित राससको कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष झाले स्थानीय मिडियाहरुलाई आबश्यक समाचार सामाग्री राससले उपलब्ध गराई सहज बनाइएको बताए । उनले मिडियाले ८८ प्रतिशत राससको समाचार सामाग्री प्रयोगमा ल्याएपनि ग्राहक भने न्यून रहेको बताए । अधिकाँश मिडियामा राससको समाचार प्रसारण-प्रकाशन हुने गरेको उल्लेख गर्दै अध्यक्ष झाले राससको ग्राहकबाट समाचार लेनदेन गरी दुरुपयोग हुने गरेको टिप्पणी गरे ।
उनले राससको समाचार प्रयोग गर्दा अनिवार्य ग्राहक बन्नुपर्नेमा जोड दिए । ग्राहक बाहेककाले राससको समाचार सामाग्री प्रयोग गरेको पाइएमा प्रतिलिपी ऎन आकर्षित हुन सक्ने भन्दै उनले सचेत गराए ।
स्थानीय मिडिया हाउसलाई प्रोत्साहन गर्ने लक्षका साथ रासस अगाडि बढेको जानकारी गराउँदै उनले राससको ग्राहक बनी सेवा लिन मिडिया संचालकहरुलाई आग्रह समेत गरे ।
पत्रकारिता सशक्त बनाउन मातृभाषा सशक्त हुनुपर्छ भन्दै अध्यक्ष झाले राससले पनि मातृभाषा सेवा संचालनमा ल्याएको बताए । सेवा विस्तारले मातृभाषाको संरक्षण, सम्बर्द्धनको साथै राससको पनि सबलीकाण हुनेमा विश्वास व्यक्त गरे ।
सेवा विस्तारले मातृभाषामा प्रकाशित तथा प्रसारित मिडियाहरुको विकासमा ठूलो टेवा पुग्ने उनको भनाई थियो । राससले २४ घण्टा सेवा प्रदान गर्दै आएको बताउँदै अध्यक्ष झाले प्राप्त सेवाको उपयोग गरी फाइदा उठाउनु पर्नेमा जोड दिए ।
मातृभाषाको लागि एकैपटक १ हजार शुल्क बुझाएपछि हुने भएकोले मातृभाषाको जगेर्नाका लागि पत्रकार हरुको भुमिका अपरिहार्य हुने बताए ।
रासस सप्तरीका प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा आयोजित भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष विष्णु कुमार मण्डल, बैधनाथ झा, मुरली प्रसाद यादव, वरिष्ठ पत्रकार अनिल कुमार अनल, गणेशलाल देव, प्रदेश परिषद सदस्य बृजमान तामाङलगायतका विभिन्न मिडियाका प्रकाशक, सम्पादकहरुको उपस्थिति थियो ।
कार्यक्रम संचालन रासस बोदेबर्साइन प्रतिनिधि उमेश कुमार साहले गरेका थिए ।