• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सितापुर स्वास्थ्य चौकी प्रमुख विवाद : गाउँपालिकाको पत्र कार्यान्वयन नगर्न आदेश

सितापुर स्वास्थ्य चौकी प्रमुख विवाद : गाउँपालिकाको पत्र कार्यान्वयन नगर्न आदेश
न्यूज टुडे
राजविराज, १४ मंसिर । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको सितापुर स्वास्थ्य चौकी प्रमुख विवाद सतहमा पुगेको छ । निमित्त कार्यालय प्रमुख अमित कुमार चौधरीले उच्च अदालत जनकपुर- राजविराज इजलासमा दायर गरेको उत्प्रेषण, परमादेश, निषेधाज्ञ मुद्दाको सुनुवाइ गर्दै गाउँपालिकाको विभिन्न मितिको पत्र कार्यान्वयन गर्न /नगराउन  विपक्षीहरुको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 
न्यायाधीश सुशील कोइरालाको इजलासले अग्नीसाइर कृष्णासवरन गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय सितापुर सप्तरीको च.नं. ५४६ मिति : २०८१/०७/०८ च.नं.६४२ मिति २०८१/०८/०४ र च.नं. ६५६ मिति २०८१ /०८/०४ का पत्रहरु कार्यान्वयन नगर्नु / नगाराउनु भनी विपक्षीहरुको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 
‘उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ । सो को जानकारी विपक्षीहरुलाई दिनु ।’ न्यायाधीश कोइरालाको एकल इजलासबाट जारी आदेशमा भनिएको छ । 
दुबैपक्षलाई राखी छ्लफल गराई निष्कर्षमा पुग्न उपयुक्त देखिँदा मंसिर १७ गते पेशी तोकिएकाले सो जानकारी विपक्षीलाई दिनु भनी न्यायाधीश कोइरालाद्वारा जारी आदेशमा भनिएको छ ।
उच्च अदालतबाट जारी आदेशमा सूचना तामेली भएको बाटाको मिति बाहेक १५ दिनभित्र विपक्षीहरुलाई लिखित जवाफ पेश गर्न भनिएको छ ।
‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी नगर्नु पर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण र प्रमाण भए सो समेत उल्लेख गरी म्याद सूचना तामेल भएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न भनी प्रस्तुत आदेश र निवेदनको प्रतिलिपीसमेत साथै राखी विपक्षीको नाममा म्याद सूचना जरी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधी व्यातित भएपछि नियम अनुसार पेश गर्नुहोला’ आदेशमा भनिएको छ । 
स्वास्थ्य चौकी सितापुरमा हरिनारायण चौधरीको २०८१ असारमा अनिवार्य अवकाश भएपछि रिक्त प्रमुखमा गाउँपालिकाले जनस्वास्थ्य निरीक्षक अधिकृत छैठौं प्रेमनाथ चौधरीलाई प्रमुखको पदास्थापनका लागि पत्र दिएका थिए । स्वास्थ्य चौकीका निमित्त प्रमुख  जनस्वास्थ्य निरीक्षक अधिकृत छैठौं अमित कुमार चौधरीले प्रेमनाथ भन्दा आफू सिनियर भएकोले प्रमुखको जिम्मेवारी पाउनुपर्ने दाबी गरेपछि विवाद सतहमा पुगेको छ । 
विवाद उत्कर्षमा पुगेपछि दुबैजनाको कागज-पत्र झिकाइ गाउँपालिकाले प्रेमनाथलाई जेष्ठता कायम गरी हाजिर हुन पत्र थमाएका थिए । प्रेमनाथ भन्दा ६ महिना सिनियर भएकोले प्रमुखको जिम्मेवारी आफुले पाउनुपर्ने अडान अमितको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रशासन शाखाले मिति २०७८/०२/२८ गते दुबैजनालाई  स्तरबृद्धी तथा पदनाम सम्बन्धमा दिएको पत्रमा ४ महिना  १२ दिनले अमितलाई जेष्ठता लागू हुने पत्र दिएको छ । 
अमितको २०७७/०४/०१  देखी जेष्ठता लागू हुने र 
 प्रेमनाथको २०७७ /०८/१३ देखी जेष्ठता लागू हुने मन्त्रालयको पत्रमा उल्लेख छ ।
गाउँपालिकाले प्रेमनाथ सुनसरीको बरहाक्षेत्र नगरपालिका १० मा प्रमुख पदमा काम गरिसकेको आधारमा जेष्ठता कायम गरेको छ भने अमितले मन्त्रालयले तोकोको जेष्ठता लागू हुने मितिलाई मापदण्ड बनाउनु पर्नेमा जोड दिएका छन् । 
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी भतिजा प्रेमनाथलाई जसरी भएपनि प्रमुख बनाउने दाउमा छन् भने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी आफू निकट स्थानीय समेत रहेका अमितलाई प्रमुख बनाउने अडानमा छन् । 
बरियता मिचेर प्रमुख नियुक्त गर्ने प्रयास गरिएकोले विधि र मापदण्डको आधारमा प्रमुखको पदास्थापना गर्नुपर्ने अडानमा आफू रहेको वडा अध्यक्ष चौधरीले बताए । 
प्रेमनाथलाई प्रमुखको जिम्मेवारी दिने गरि सहमति दिई सुनसरीको बरहाक्षेत्रबाट सरुवा गराई सितापुर स्वास्थ्य चौकीमा पदास्थापनाको पत्र गाउँपालिकाले दिइएको छ भने अमित २०७८ /०२/ २८ देखि सोही स्वास्थ्य चौकीमा कार्यरत छन्  ।  हाल उनी स्वास्थ्य चौकीको निमित्त प्रमुखको जिम्मेवारी कार्यरत छन्