न्यूज टुडे
राजविराज, १३ मंसिर ।
सप्तरीको खडक नगरपालिकाकी पूर्वउपमेयर यास्मिन सुल्तानको घरबाट लाखौं रुपैयाँको अबैध कपडा बरामद भएको छ। खडक नगरपालिका–७ स्थित यास्मिनको घरबाट मंगलबार १९ लाख ३० हजार ९० रुपैयाँबराबरको भन्सार छलीको आशंकामा कपडा नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीको संयुक्त टोलीले सुल्तानको गोदामबाट उक्त कपडा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गोप्य सुचनाको अधारमा छापा मारेर ३८ वटा पोकामा तयारी पोसाक बरामद गरेको प्रहरीले बताएका छन् ।तत्काल सामानको बिलविजक नदेखाएपछि भन्सार छलीको आशंकामा सामान नियन्त्रणमा लिई अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय तिलाठी ल्याइएको भन्सार कार्यालय तिलाठीले जनाएको छ ।
घरमै भेटिएका पूर्व उपमेयर सुल्तानलाई भने प्रहरीले नियन्त्रणमा लिएका छैन । सुल्तान यसअघिको कार्यकालमा नेपाली काँग्रेसबाट खडक नगरपालिकाको उपमेयर थिइन्।
अगाडिबाट हेर्दा सामान्य देखिएपनि सुल्तानले संचालनमा ल्याएको कपडा गोदाम भित्र ठु-ठुल्ला ट्रक अट्नसक्ने अजंगको हल रहेको छ।
सशस्त्र प्रहरीका एसपी ज्ञानमणि पौडेलले घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको बताउँदै मुद्दाका क्रममा आवश्यक भए सुल्तानलाई पनि कानुनी दायरामा ल्याइने प्रतिक्रिया दिए।
नेपाल प्रहरीले गोदाममा छापा मार्न सहयोग गरेपनि बरामद कपडा सशस्त्र प्रहरी र भन्सार प्रतिनिधिले तल्कालै लगेर गएकोले थप जानकारीका लागि उतैबाट बुझ्न सकीने जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार गोदाममा धेरै कपडाहरु भएपनि टोलीले विल विजक नभएका कपडा मात्र नियन्त्रणमा लिएको छ ।