न्यूज टुडे
राजविराज, १३ मंसिर।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–१ का नेपाली काग्रेसका युवा नेता इन्द्रदेब यादब जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । डाक्नेश्वरी नगरपालिका १ मा बुधबार मध्यरातमा आयोजित एक कार्यक्रमको वीच काँग्रेस परित्याग गरी इन्द्रदेब सहित दर्जनौंको संख्यामा जसपा नेपालमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य पार्टी यूवा तथा खेलकुद विकास संयोजक पूर्व प्रदेश साँसद विदेश्वर प्रसाद यादव (बिक्की)ले माला र गम्छा लगाएर पार्टी प्रवेश गराए ।
नवप्रवेशी इन्द्रदेब यादवले नेपाली कांग्रेसले सधैं सत्ता र सरकार संचालन गरे पनि वडा र क्षेत्रको बिकास तथा अधिकार पहिचान प्रती पूर्वाग्रही र उदासीन भएका कारण पार्टी परित्याग गरेको आरोप लगाए । इन्द्रदेब केहि दिन अगाडिनै जसपा नेपालबाट काँग्रेसमा प्रवेश गरेका थिए ।
इन्द्रदेव सहितका काँग्रेस स्थानीय नेताहरूले पार्टी परित्याग गरेपछि काँग्रेसलाई आफ्नो विरासत जोगाउन कठिन भएको स्थानीय बताउछन् ।
उप-निर्वाचनमा वडा नम्बर १ का अध्यक्षका उम्मेदवार धीरेन्द्र कुमार साहले पालिका र वडाको बिकासमा जसपा नेपाल गम्भिर रहेको बताए । उनले विकास र समृद्धिका लागि वडामा जसपा नेपालको नेतृत्वको विकल्प नरहेको जिकिर गरे ।
पार्टी प्रवेश कार्यक्रममा बोदे बरसाईन नगरपालिका मेयर आतेश कुमार सिंह यादवसहितका जनता समाजवादी पार्टी नेपालका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।