न्यूज टुडे
राजविराज, १२ मंसिर ।
सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी भएका ८ जना चिकित्सक बाहिरा काजमा रहेको छ । चिकित्सक काज मिलाउँदै अन्यत्र रहनुले स्वास्थ्य सेवा प्रभावित भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा ८ जना दरबन्दी रहेका विशेषज्ञ चिकित्सकहरु स्वास्थ्य मन्त्रालयबाट काज मिलाउँदै अन्यत्रको अस्पतालमा जाने क्रम नरोकिएपछि यो अस्पतालमा चिकित्सक अभाव भएको अस्पताल प्रशासनले बताएका छन् ।
‘यहाँ दरबन्दी भई पाँच वर्षदेखि अन्यत्रको अस्पतालमा काजमा रहेका डाक्टर समेत अस्पतालमा फिर्ता आउन तयार छैनन् ‘ अस्पताल श्रोत भन्छन् ‘जसकारण अस्पतालमा आईसीयु, ईएनटी लगायतका सेवाहरु सुरु गर्न सकिएको छैन ।’
‘दरबन्दीमा आउने चिकित्सकमध्ये केहीको सेवा यहाँ सुरु नगर्दै काज सरुवा हुने गरेको छ ।’ अस्पतालका एक कर्मचारीले भने ।
अस्पतालमा दरबन्दी रहेका दशौँ तहकी कन्सलटेन्ट पेडियाट्रिसियन डा. श्वेता गुप्ता लामो समयदेखि काजमा बहिरा छिन् । २०७६ साल पुस २ गतेदेखि उनी काजमा भरतपुर अस्पताल चितवनमा कार्यरत छिन् ।
गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका एघारौँ तहका प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन डा. अवधेशकुमार मिश्र २०८१ साल असार ४ गतेदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा छन् ।
यसैगरी बरिष्ठ कन्सलटेन्ट पेडियाट्रिसियन एघारौँ तहकै डा.एन्जिला घिमिरे २०८१ जेठ २७ गतेदेखि असाधारण बिदामा छिन् ।अस्पतालमा दशौँ तहमा दरबन्दी रहेका बरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा. इन्द्र ढकाल २०८१ असार ५ गतेदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा काजमा छन् । यहाँ दरबन्दी रहेका नवौँ तहका कन्सलटेन्ट रेडियोलोजिष्ट डा. प्रकाश ढकाल २०८१ साउन १६ गतेदेखि लुम्बिनी प्रदेश छन् । नवौँ तहकै कन्सलटेन्ट डर्माटोलोजिष्ट डा. रन्जु पोखरेल २०८१ साउन २९ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काजमा छन् । नवौँ तहकै कन्सलटेन्ट साइक्लोजिष्ट डा. सुशिल समदर्शी २०८१ जेठ २७ गतेदेखि कर्णली प्रदेशमा र नवौँ तहमै गजेन्द्र नारायण अस्पतालमा दरबन्दी भएका कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. बिशालकुमार देव २०८१ साउन ३० गतेदेखि कोसी अस्पताल बिराटनगरमा काजमा छन् ।
दरबन्दीमा स्वास्थ्य मन्त्रालयले पठाएको चिकित्सक मन्त्रालयबाट सधैँ काज मिलाउँदै अन्यत्रै जान थालेपछि संघीय सरकार मातहतको गजेन्द्रनारायण अस्पताल जनशक्तिको अभावमा गुणस्तरीय सेवा दिन नसकिरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए ।
२४ घण्टा सेवा दिनुपर्ने अस्पतालमा एक त दरबन्दी संख्या नै कम छ, भएका दरबन्दीमध्ये पनि आठ जना विशेषज्ञ चिकित्सक काज मिलाउँदै अन्यत्रै गएपछि गुणस्तरीय सेवा दिन त समस्या भएको छ,’ मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीले भने, ‘जनशक्ति अभावमा आईसीयु र एनआइसीयू लगायतका सेवा पनि संचालन गर्न सकेका छैनौँ ।’
दरबन्दीमा रहेका चिकित्सक÷स्वास्थ्यकर्मीहरु काजमा अन्यत्रै भएपछि २४ घण्टा सेवा दिन समस्या भइरहेको मेसु डा. तिवारीले जानकारी दिए ।
चिकित्सकको अभावमा गजेन्द्रनारायण अस्पतालको सेवा प्रवाहमा अत्यन्तै कठिन भएकोले काज फिर्ता गरी यस अस्पतालमा पठाइदिन वा वैकल्पिक व्यवस्था गरिदिन मेसु डा. तिवारीले स्वास्थ्य मन्त्रालयमा।पठाएको पत्रमा आग्रह गरिएको छ ।