मेलमिलाप सम्बन्धि ८ दिने आधारभुत तालिम राजविराजमा संचालन गरिएको छ । मेलमिलाप परिषद्को आयोजनामा मंगलबारदेखि तालिम शुरू भएको हो ।
तालिमको उदघाटन सत्रमा मेलमिलाप परिषद्का अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले मेलमिलापलाई संसारमै उत्कृष्ट प्रक्रियाको रूपमा लिएको बताएका छन् । उनले मेलमिलापबाट बिवाद समाधान भएमा समय,मान्सिक तनाव र आर्थिक समस्याको सजिलै अन्त्य हुने बताए ।
मेलमिलाप तत्कालीन समस्या समाधान मात्र नभएर समाजमा दिर्घकालिन शान्ति सुरक्षा कायम भई असल र सभ्य समाज निर्माण हुने रेग्मीको तर्क रहेको थियोे ।
न्याय समितिबाट ८०/७० प्रतिशत विवाद मेलमिलापकै माध्यमबाट समाधान हुँदै आएको उनको बताए ।
कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज ईजलासका न्यायाधीश वामदेव ज्ञवालीले न्यायाधीशले एक पक्षलाई हराउने र अर्को पक्षलाई जिताउने काम गर्नुपर्दा न्यायाधीशलाई न्यायाधीश हुनुमा गर्व नलाग्ने गरेको बताए ।
´सफल मेलमिलाप कर्ता हुनु ठूलो गौरवको विषय हो ‘उनले भने, ‘मेलमिलाप कर्ताले दुबै पक्षलाई जिताउँछ ।’
दुबै पक्षको जीत भएको मन र मस्तिष्कमा हुने भएकोले पक्ष विपक्ष तथा मेलमिलाप कर्तालाई भित्रैबाट सन्तुष्टि हुनुले मेलमिलाप प्रति सर्वसाधारणको सकारात्मक धारणा रहेको बताए ।
कार्यक्रममा जिल्ला बार सप्तरीका अध्यक्ष हरेराम यादवले समयमा फैसला पत्र आउन नसक्नुका कारण जनशक्ति अभाव भएपछि सेवाग्राहीले अधिवक्तालाई गुनासो सुनाउँने गरेको बताए । अदालतमा दरबन्दीभन्दा ५० प्रतिशत कर्मचारी कम भएकोले अदालतको कामकाज प्रभावित हुँदै आएकोले सम्बन्धित निकायले यसतर्फ गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।
तालिम लिएर व्यवहारमा कार्यान्वयन गर्न सके कार्यक्रमको उद्देश्य प्राप्ति हुने भएकोले तालिम कति प्रभावकारी भयो ? त्यसको समिक्षा हुनु आवश्यक रहेको उनले बताए ।
२०६० सालदेखि मेलमिलाप गर्ने प्रक्रिया शुरू भएको हो । साना तिना मुदा मेलमिलाप मार्फत समाधान गर्ने सरकारको नीति रहेको छ ।कार्यक्रममा ३० जना सहभागी रहेको आयोजकले जनाएका छन् ।