• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘जनप्रतिनिधिमा भिजन,मिसनमा स्पष्टता र दृढता चाहिन्छ’ : पूर्वमन्त्री यादव

‘जनप्रतिनिधिमा भिजन,मिसनमा स्पष्टता र दृढता चाहिन्छ’ : पूर्वमन्त्री यादव
न्यूज टुडे
राजविराज, ०६ मंसिर । 
माओवादी नेता एवम् पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादवले जनहितको काम गर्न जनप्रतिनिधिमा भिजन ,मिसनमा स्पष्टता र दृढता चाहिने धारणा राखेका छन् । आफ्नो सामाजिक संजालमा बिहीवार राजविराज नगरपालिकासहितका सम्पूर्ण पालिकाले गर्नुपर्ने कार्य बारे १५ बुँदे रायसहित मन्त्री यादवले धारणा  सार्वजनिक गरेका हुन् । 
मन्त्री यादवले जनप्रतिनिधिहरु कमाउ धन्दामा लागेर भ्रष्टाचारमा लिप्त हुँदा जनअपेक्षित विकास हुन नसकेको टिप्पणी गरेका छन् ।  स्थानीय जनप्रतिनिधिमा घमण्ड प्रदर्शन गर्ने होडबाजीको रवाफ बढेको र भिजन ,मिसनमा स्पष्टता र दृढता पटककै नभएको पूर्व मन्त्री यादवको आरोप छ । 
 ‘यहाँ ,घमण्ड प्रदर्शन गर्ने होडबाजीको रवाफ एकातिर छ भने चुनाव आएपछि देखाइ दिन्छु भनेर पर्खेर बसेका असंगठित मतदाता ,निराश नागरिक समाज अर्को तिर छन्’ मन्त्री यादवले लेखेका छन् ‘उपरोक्त काम सम्पुर्ण सप्तरीको पालिकाले गर्नुपर्ने मेरो ब्यक्तिगत राय छ।यसको लागि फजुल खर्च र कोटेशनको नाममा कमाउ धन्धाको बजेट कटौती तथा कार्यक्रमको लागी कार्यक्रमको नाममा बिनियोजित बजेट कटौती गरेर लगानी गर्न सकिन्छ । मुख्य कुरा ,भिजन ,मिसनमा स्पष्टता र दृढता चाहिन्छ ।’
उनले आफ्नै जिल्लाको मुख्यमन्त्री तथा सिंहदरबारसंग समन्वय गरेर श्रोत ब्यबस्थापन गर्न सकिने सुझाव दिएका छन् । 
मन्त्री यादवले सामाजिक संजालमा लेखेका छन् :- राजविराज नगरपालिकाले विटौरी  जग्गाको समस्या तुरुन्तै समाधान गरि घरजाँच नक्सा पास सम्बन्धि दीर्घकालीन नीति ल्याउन जरुरी छ, सार्वजनिक जग्गाको अतिक्रमण हटाइ संरक्षण गर्न जरुरी छ,जैविक बगैंचा र जलासाय क्षेत्रको संरक्षणको बृहत योजना ल्याइ पर्यावरण र सरसफाइतर्फ अभियानात्मक काम गर्न जरुरी छ, हटिया ब्यबस्थापन ,ट्राफिक ब्यबस्थापन अबिलम्ब गर्न जरुरी छ। प्लास्टिकको कप,कागजको कपको साटो माटाको कप ,ग्लास चियापसलहरुमा तथा प्लास्टिकको झोलाको साटो कपडाको ,कागजको झोला प्रयोगमा ल्याउन कार्यान्वयन गर्न जरुरी छ। सार्वजनिक शैक्षिक एवम् स्वास्थ्य संस्थाहरु जनताको पक्षमा प्रभावकारी हुने गरि जनप्रतिनिधि र कर्मचारीको भुमिका शसक्त हुनुपर्छ । 
यसैगरी वैदेशिक रोजगारबाट फर्कीआएकाहरुको सीप बेरोजगार युवाहरुमा सम्प्रेषण गर्ने तथा स्वरोजगार तथा रोजगार तुरुन्तै पाउने हिसाबले योजना ल्याउने र यहाँका ब्यबसायीहरुलाई पलायन हुनबाट रोक्ने विशेष योजना ल्याउन जरुरी छ। पारदर्शिताको लागी दैनिकको आय – ब्यय नपाले आफ्नो वेबसाईटमा राख्न जरुरी छ।। ग्रीन राजबिराज ,क्लीन राजबिराज सम्बन्धि विशेष योजना ल्याउन जरुरी छ। राजबिराज बृहत बिकास ,कला/ संस्कृति संरक्षण परियोजना बनाउन जरुरी छ। मातृभाषा मैथिलीमा कामकाज गर्ने ,जनताको निवेदन लिने कामको नेतृत्व राजबिराज नपाले गर्न जरुरी छ। जैविक मलको प्रयोग ,स्थानीय नश्लको पशुधनको संरक्षण ,कृषि क्षेत्रमा रोजगार र त्यसमा अनुदानको कार्यक्रम बारेमा गम्भीरताका साथ सोच्न जरुरी छ। पुस्तकालय र राजबिराज म्युजियम बारेमा काम अगाडि बढाउन जरुरी छ।मातृभाषा मैथिलीमा पठनपाठन र त्यसको लागि शिक्षकको ब्यबस्थापन एवम्  बालबालिकाको लागी बिहानीको गामघर शिक्षा कार्यक्रम तथा ९/१० का विद्यार्थीको लागी थप कक्षा सन्चालन गर्न जरुरी छ। खेलाडी ,गायक ,संगीतकारको संरक्षण र प्रोत्साहन गर्न बजेट ब्यबस्थापन सहितको योजना तुरुन्त ल्याउन जरुरी रहेको मन्त्री यादवले सामाजिक संजालमा सुझाएका छन् ।
‘आउनुहोस् ,हामी जागौं र जगाऔं’ मन्त्री यादवले सामाजिक संजाल मार्फत आव्हान समेत गरेका छन् ।