• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

थारु संग्राहलयको लागि बजेट विनियोजन गर्छु : मुख्यमन्त्री सिंह

थारु संग्राहलयको लागि बजेट विनियोजन गर्छु : मुख्यमन्त्री सिंह
,न्यूज टुडे
राजविराज, ०१ मंसिर । 
मधेस प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले सप्तरीमा थारु संग्राहलय निर्माणका लागि आबश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका २ नेङ्गडामा शनिबार थारु कल्याणकारिणी सभा सप्तरीद्वारा आयोजित जिल्ला स्तरीय समाचकेवा महोत्सव उद्घाटन गर्दै उनले यस्तो बताएका हुन। 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य अनिरुध्द कुमार सिंह यादव । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले सबैभाषा, धर्म, 
 संस्कृति संरक्षणका लागि आबश्यक नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । थारु समुदायको पहिचान र कला संस्कृति जगेर्नाका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक बजेटको व्यवस्था गर्ने बताउँदै उनले सप्तरीकै पायक पर्ने कुनै स्थानमा जग्गा उपलब्ध गराउन आग्रह गरे ।
साँस्कृतिक संरक्षणका लागि भव्य कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै उनले आगामी दिनमा महोत्सवका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने आश्वासन दिए । 
कार्यक्रममा मञ्चासीन मुख्यमन्त्री सिंहसहित अतिथिगण । फोटो : न्यूज टुडे
समाचकेवा पर्वको महत्त्व बारे चर्चा गर्दै मुख्यमन्त्री सिंहले समाजमा अशान्ति पैदा गर्ने चुगलालाई निरुत्साहित गर्न कार्यक्रमले सहयोग पुर्‍यायोस भन्दै शुभकामना समेत व्यक्त गरे । 
उनले आफूलाई मुख्यमन्त्री भन्दा मुख्य सेवकको रुपमा सम्बोधन गर्दा पुर्ण सन्तुष्टि हुने बताए । 
´आफू जनताको अभिमतबाट मुख्यमन्त्री भएको हुँ, जनता मालिक हो ‘उनले भने,´मालिकको सेवा गर्ने सेवकको दायित्व हुन्छ, आफुलाई मुख्यमन्त्री भन्दा मुख्य सेवक रुपमा लिनुस् ।’
कार्यक्रममा सहभागी । फोटो न्यूज टुडे
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित साँसद अनिरुध्द प्रसाद सिंह यादवले संविधान बनाउनेले नै संविधानको पालन गरेको  आरोप लगाए । उनले थारु आदिवासी जनजाति मधेसी लगायत जाति समुदायको एकतामा विचलन ल्याउन प्रमुख राजनीतिक दलले नै संविधान उल्लंघन गरेको बताए । यादवले  साशक वर्गले उत्पीडित जाति समुदायलाई फुटाउने विभिन्न षड्यन्त्र कायम  रहेकोले  यस्ता  विखण्डनवादीहरुबाट सचेत रही पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चितताको लागि एकजुट हुन आग्रह गरे । 
धमकादार प्रस्तुति राख्दै चर्चित गायिका एवम् थाकस केन्द्रीय सदस्य दिल कुमारी चौधरी । फोटो : न्यूज टुडे
थारु कल्याणकारीणी सभा सप्तरीका अध्यक्ष भुपेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादव, अग्नीसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, बलानविहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी थारु, भाषा संस्कृति संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष बुधसेन चौधरी, बोदेबर्साईन नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामप्रसाद राम, अधिवक्ता भागवत चौधरी, थाकस सप्तरीका पूर्व सल्लाहकार निरन्जन चौधरी लगायतकाले समेत मनतव्य व्यक्त गरे । 
कार्यक्रममा राष्ट्रिय कलाकार ममता चौधरी,सिमा चौधरी,स्वस्तिका चौधरी, भावना चौधरी लगायतका स्थानीय कलाकारहरुले  प्राचीन थारु संस्कृति,कला झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 
थारु कलाकार प्रमोद  थारु  र थारु नेता रमाकान्त चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत थाकस सप्तरीका उपसभापति राम प्रसाद चौधरीले गरे । 
कार्यक्रममा समाचकेवा र चुगलाको आकृति भएको हजारौं डालीसहितको झाँकी समेत प्रदर्शन गरिएको थियो ।