• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रदेश स्वायत्त भएकै छैन, अधिकार अन्तै छ : मन्त्री लेखी

प्रदेश स्वायत्त भएकै छैन, अधिकार अन्तै छ : मन्त्री लेखी
न्यूज टुडे
राजविराज, ३० कात्तिक । 
मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले देशमा संघीय शासन व्यवस्था लागूभएपनि प्रदेश अझै स्वायत्त नभएको र अधिकार अन्तै हुँदा उत्पीडित, उपेक्षित समुदायले अझै अधिकार पाउन नसकेको बताएका छन् ।  मिडिया काउन्सिल मधेस प्रदेशद्वारा सप्तरीको सप्तकोसी नगरपालिका – ४ स्थित बलारदहमा शुक्रबार आयोजित पत्रकार आचारसंहिता सम्बन्धि गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
मिडिया काउन्सिलद्वारा आयोजित पत्रकारिता आचारसंहिता सम्बन्धि गोष्ठीमा सहभागी पत्रकार । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै मन्त्री लेखीले संघीयताको मर्म अनुसार प्रदेश अधिकार सम्पन्न नभएसम्म उत्पीडित जातिसमुदाय अधिकार सम्पन्न हुन नसक्ने जिकिर गरे । उनले संघीय शासन व्यवस्थालाई बलियो बनाउन प्रदेश स्वायत्त हुनुपर्नेमा जोड दिए । 
‘हामी राजनीतिककर्मी र पत्रकारहरु मञ्च पिच्छे संघीयता र समाबेशीताको कुरा उठाउँछौ, संविधानले व्यवस्था गरेको  एउटा कुरा हामी बोल्दैनौ र लेख्दैनौ´ मन्त्री लेखीले भने,´प्रदेशको अधिकार अन्तै छ, प्रदेश स्वायत्त भएकै छैन, यसलाई पनि उठाउने दायित्व राजनीतिककर्मी र पत्रकारकै हो ।’
गमलामा पानी खन्याएर कार्यक्रम उद्घाटन गर्दै मन्त्री लेखीसहित अतिथिगण । फोटो : न्यूज टुडे
मन्त्री लेखीले पछाडि पारिएका जाति समुदायको अधिकार सम्बोधनका लागि प्रदेश, क्षेत्र, इलाका स्थानीय तह स्वायत्त हुनुपर्नेमा जोड दिए । स्वायत्त क्षेत्र नबनेसम्म दलित, मुश्लिम, मधेसी, आदिवासी जनजातिले अधिकार नपाउने लेखीले बताए ।
´स्वायत्त प्रदेश, क्षेत्र ,इलाका नभएसम्म पछाडि परेका समुदायको अधिकार सम्बोधन हुन सक्दैन’, मन्त्री लेखीले भने,´यो कुरा राजनीतिककर्मीले बोल्नु र पत्रकारले लेख्नु पर्छ।’ 
मन्त्री लेखीले पछिल्लो पटक संघीयता विरुद्ध केही राजनीतिक दलले संघीयताले विखण्डन ल्यायो तथा आर्थिक बोझ थपियो भनी भ्रम फैलाउने गरेको भन्दै आक्रोश व्यक्त गरे । संघीयकै कारण राष्ट्रिय एकतामा बल पुगेको तथा पूर्वाधार, शिक्षा,स्वास्थ्य, साँस्कृतिक विकासले गति लिएको चर्चा गर्दै उनले ७५ बर्षमा हुन नसकेको विकास संघीयताकै कारण ७ बर्षमा भएको दावी गरे । 
उनले संघीयतालाई अधिकार सम्पन्न तथा ब्यवस्थित गर्न राजनीतिककर्मी र पत्रकारहरुले सकारात्मक भुमिका खेल्नुपर्ने आवश्यकता औल्याए । 
मन्त्री लेखीले आफू जिम्मेवारीमा रहुन्जेलसम्म पत्रकार र पत्रकारिता क्ष्रेत्रको धेरै कुरा सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।  उनले पत्रकारहरुको हकहित संरक्षण र पेशागत सुरक्षाका लागि ध्यानमा राखेर बजेट व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 
´पत्रकारहरुले उठएको कुरामा गम्भीर छु,रमाउन र आश्वासनका लागि मात्र कुरा गर्दिन’, मन्त्री लेखीले भने,’अरुभन्दा बढी मिडियामा सहानुभूति राख्छु, संचार क्षेत्रमा बजेट बढाएर पत्रकारको समस्यालाई ध्यानमा राखेर बजेट सिलिङ बढाउनुपर्छ, आफू जिम्मेवारीमा रहुन्जेल  धेरै कुराहरु सम्बोधन हुन्छ ।’
पञचायती, बहुदलीय व्यवस्था भन्दा गणतन्त्रमा पत्रकारिताको अवस्था फेरीएको बताउँदै आधुनिकताको गम्भीरतालाई बुझेर पत्रकारितालाई पनि बदल्नु पर्ने उनको कथन रहेको थियो ।  
मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष कैलाश दासको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य किरण कुमारी साह, सप्तकोसी नगरपालिकाका मेयर कृष्णा प्रसाद ढकाल,आम संचार प्राधिकरण मधेस प्रदेश अध्यक्ष श्यामसुन्दर यादव,नीति आयोगकी सदस्य डा. शिला मिश्र, पत्रकार महासंघ मधेस प्रदेश समिति अध्यक्ष राजेश कुमार कर्ण, सप्तरी शाखा अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष बैधनाथ झालगायतकाले विचार व्यक्त गरे । 
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेल, पत्रकार हेमशंकर सिंह, सतिष दत्त, नवीन कुमार गुप्ता, विद्यानन्द राम, पिण्टु यादव, अजय अनुरागलगायतले पत्रकार आचारसंहिता उलंघनका घटना न्यूनीकरणका लागि हुनसक्ने उपायबारे सुझाव दिएका थिए । 
मिडिया काउन्सिलका लेखा अधिकृत फडिन्द्र ढुगेलद्वारा संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत मुलेश्वर यादवले गरेका थिए ।
नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता थियो ।