जसपा नेपालकी केन्द्रीय सदस्य एवम् ´जनतासंग जसपा नेपाल´ आधारभूत संगठन निर्माण अभियानकी तिरहुत गाउँपालिकाकी प्रमुख अभियन्ता पुनम कुमारी यादवले महिला,थारु, मुश्लिम, दलित, आदिवासी जनजाति, मधेसीको अधिकारको लागि लड्ने एउटै मात्र पार्टी जसपा नेपाल रहेको बताएकी छिन् । जसपा नेपाल तिरहुत गाउँपालिका वडा नम्बर ३ वडा समितिद्वारा सप्तरीको गुइठीमा बिहीबार आयोजित ´जनतासंग जसपा नेपाल´ आधारभूत संगठन निर्माण अभियान अन्तर्गत वडा स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
कार्यक्रममा बोल्दै यादवले महिला, मधेसीलगायत उत्पीडित जात/जाती समुदायले थोरै भएपनि पाएको पहिचान,मान प्रतिष्ठा र अधिकार जसपा नेपालकै देन भएको जिकिर गरीन ।
विभिन्न उपनाम राखेर हेप्ने प्रवृत्तिको अन्त्य गरी मधेसी जनताको पहिचान, प्रतिष्ठा उच्च बनाउने कार्य जसपा नेपालले गरेको उल्लेख गर्दै उनले मधेसी, थारु, आदिवासी जनजाति, दलित मुश्लिमको लागि लड्ने एक मात्र पार्टी जसपा नेपाल भएको दावी गरिन।
संघीय शासनकै कारण स्थानीय तहसम्म सरकार गठनको अवधारणा आएको तथा त्यसैको उपज विकासले गति लिएको बताउँदै उनले देशमा संघीय शासन व्यवस्था ल्याउने पार्टी जसपा नेपाल भएकोले विकास र अधिकारका लागि जसपा नेपालमा संगठित हुनुको विकल्प नरहेको तर्क गरिन ।
जसपा केन्द्रीय सदस्य एवम् अभियान्ता विकास कुमार तिवारीले बजेट खर्च गर्ने शैली बदल्नु पर्नेमा जोड दिए । उत्पादनमुखी तथा रोजगारी सिर्जना हुने योजना तथा कार्यक्रममा बजेट लगानी गर्नुपर्ने उनको जोड थियो ।
‘अहिले बाटोमा माटो, मन्दिर, मज्जीद, बाटोमा ग्राइभेल गर्ने होडबाजी चलेको छ’, नेता तिवारीले भने,´योजना यस्तो छनौट होस् जसले समाजका अन्तिम अवस्था रहेका विपन्न बर्गलाई प्रत्यक्ष लाभ मिलोस’
योजना छ्नौट गर्दा एउटै मठमन्दिर, बाटोघाटोमा पटकपटक लगानी नगरी शिक्षा, स्वस्थ्य, कृषि तथा समाजका अन्तिम अवस्थाका मानिसले बढी रोजगारीको अवसर पाउने उत्पादनमुखी योजनालाई प्राथमिकीकरण गर्नुपर्ने उनको भनाइ थियो।
उनले राजनितीक तथा सामाजिक परिवर्तनमा जसपा नेपालको ठुलो योगदान रहेको बताए । देशमा भएको राजनीतिक तथा सामाजिक उपलब्धि जसपा नेपालकै संघर्षबाट प्राप्त भएको दाबी गर्दै उनले प्राप्त उपलब्धिको रक्षा र थप अधिकार सुनिश्चितताको लागि टोल तहसम्म संगठन निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले अभियान तहत संगठन निर्माणसंगै पार्टीको विचार सिधाान्त र पार्टीले देश र जनताको लागि गरेको योगदान बारे जनजागरण गर्नुपर्ने आवश्यकता औल्याए ।
जसपा मधेश प्रदेश सदस्यद्वोय छेदी अरगरिया र विनोद कुमार यादवले आधारभूत संगठन निर्माण अभियान जनतालाई पार्टीसंग जोड्ने अभियान भएकोले सक्रियता पूर्वक अभियानमा जोडिन स्थानीय नेताकार्यकर्ता आग्रह गरे । अधिकार प्राप्त गर्ने आधार बुलेट वा ब्यालेट मात्र भएकोले बुलेटबाट मानवीय तथा भौतिक क्षति बढी हुने भएकोले ब्यालेटको उपयोग गर्नुपर्नेमा जोड दिदै उनीहरुले शान्तिपूर्ण रुपमा अधिकार सुनिश्चितताको लागि एकताबद्ध हुन आव्हान गरे।
जसपा नेपाल तिरहुत गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कुलानन्द यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सदस्य रामदेव यादव, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष एवम् तिरहुत गाउँपालिकाका निबर्तमान अध्यक्ष हेमन्त कुमार बहडखेर, तिरहुत गाउँपालिका अध्यक्ष विरेन्द्र कुमार मिश्र, तिरहुत ३ का वडा सदस्य सुलेमान मियाँ, स्थानीय कैलु सदा लगायतकाले टोल तहसम्म संगठन निर्माण कार्यलाई तीब्र बनाउनु पर्नेमा जोड दिए ।
जिल्ला सदस्य एवम् अभियान्ता अरुण कुमार गोइतद्वारा संचालित कार्यक्रममा स्वागत स्थानीय शिव नारायण मण्डलले गरे ।
तिरहुत गाउँपालिका अन्तर्गतका अगुवा नेताकार्यकर्ता सहभागी विस्तारित बैठकले २ वटा बुथ समिति गठन गरेको साथै टोलमा विस्तारित बैठक राख्ने तथा पार्टी सदस्यता वितरण गर्ने निर्णय गरेको गाउँपालिका सचिब राधेकृष्ण यादवले जानकारी दिए ।