सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका शिक्षक तथा कर्मचारीले मूल गेटमै केही दिन अघि तालाबन्दी नै गरे । साउनदेखि अहिलेसम्म तलव खान नपाएको र यस बारे नगरपालिकामा ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नहुँदा उनीहरुले बाध्य भई तालाबन्दी गरेका हुन् ।
नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयका शिक्षकदेखि नगरपालिका मातहतका अन्य कर्मचारी समेतले साउनदेखि तलव खान पाएका छैनन् । अझ दुःखद पक्ष त के रह्यो भने यस बीचमा दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्व आए र गए पनि तर त्यहाँका शिक्षक तथा कर्मचारीले यस्तो समयमा पनि पाकेको तलव नपाएर रित्तो हात घर फर्किनु प¥यो । तलब खुवाउन नसक्नु पछाडिको कारण भनेको उक्त नगरपालिकाले यस वर्षको नगर परिषद् नगर्नु नै हो । परिषद् नभएका कारण आर्थिक कारोबार रोकिएको र त्यही कारणले गर्दा तलव पनि दिन नसकिएको हो । समस्या हनुमाननगर कंकालिनी नगरपालिका मात्रैको होईन । जिल्लाका केही अन्य स्थानीय तहले पनि समयमा परिषद् गर्न सकेका छैनन् । परिषद् नहुँदा आर्थिक कारोबार पनि गर्न नसकिने र यसको असर चौतर्फी पर्न सक्छ भने बुझेर पनि समयमा यसबारे ध्यान नदिनु भनेको एक प्रकारको कमजोरी नै मान्नु पर्दछ ।
समयभित्रै नगरी नहुने कामलाई पूरा गर्ने तर्फ चासो नलिनाले अरुले पनि दुःख पाउने अवस्था आउन सक्छ भन्ने तर्फ स्थानीय तहका जनप्रतिनिधिहरुले समेत ध्यान पु¥याउन आवश्यक छ ।