जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिब एवम् पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जनताको बलिदानी र कठोर संघर्षबाट कार्यान्वयनमा रहेको समानुपातिक समाबेशी प्रतिनिधित्व समाप्त पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । जसपा नेपाल अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चौफाल-चाँदनी चौक टोल समितिद्वारा चौफालमा मंगलबार ´जनतासंग जसपा नेपाल` आधारभूत संगठन निर्माण अभियान अन्तर्गत आयोजित टोल स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेता साहले मुलुकमा एकल जातीय, एकल भाषीय, शासन व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताए । उनले समानुपातिक समाबेशी प्रतिनिधित्वसहितको संघीय शासन व्यवस्थालाई समाप्त पार्ने दुषसहास बर्तमान एमाले-काँग्रेस गठबन्धन सरकारले गरिरहेको आरोप लगाए ।
एमाले-काँग्रेस गठबन्धन सरकार गठन भएकै दिनदेखि समानुपातिक प्रतिनिधित्व खारेज गर्नुपर्छ भन्ने चर्चा सुरु भएको उल्लेख गर्दै पूर्व अर्थमन्त्री साहले एकात्मक शासन लाद्ने दुष प्रयास गरिए त्यो सफल हुन नदिने चेतावनी दिए ।
समावेशी, समानुपातिक प्रणालीकै कारण देशमा उत्पिडनमा परेका समुदाय र महिलाले राज्यको हरेक निकायमा प्रतिनिधित्व गर्ने अवसर पाएको बताउँदै उनले महिला,आदिवासी जनजाति, थारु,मधेसीसहितको उत्पीडित जाति, समुदायको जनसंख्याको आधारमा राज्यको सबैनिकायमा पूर्ण समाबेशी प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।
पहिचानको आन्दोलनबाट स्थापित अधिकारलाई उल्टाउनकै लागि संसारमै नभएको दुई ठूलो पार्टी मिलेर सरकार गठन गरेको आरोप लगाउँदै नेता साहले सहिदको रगतबाट भएको परिबर्तन समाप्त पार्ने काँग्रेस- एमालेको खेललाई सफल हुन नदिने बताए ।
मधेस विद्रोह, थारु, आदिबासी जनजाति आन्दोलनकाबाट प्राप्त अधिकारको रक्षा तथा थप अधिकार प्राप्तिका लागि जसपा नेपाल संघर्षरत रहेको बताउँदै उनले पहिचान, प्रतिनिधि र अधिकार सुनिश्चितताका लागि संगठित हुन आग्रह गरे ।
आदिवासी जनजाति, थारु, पार्टीमा सक्रिय भएकोमा खुशी व्यक्त गर्दै उनले यसले आफुलाई उत्साहित बनाएको हुँदा स्थानीयबासीले पार्टीसंग राखेको अपेक्षा, आवश्यकता र विकासलाई प्राथमिकतामा राखी सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
जसपाका केन्द्रीय सदस्य एवम अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका प्रमुख केन्द्रीय अभियन्ता उमेश प्रसाद यादवले अन्य पार्टीले ठगलाई संरक्षण दिन आन्दोलन गर्ने गरेको र आफ्नो पार्टीले सदियौदेखी राज्यबाट ठगिएका बर्ग, समुदायको अधिकार स्थापित गर्न अग्रसर रहेको बताए ।
जसपा नेपाल अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ चौफाल-चाँदनी चौक टोल समितिकी अध्यक्ष गंगामाया राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य बृजमान तामाङ, वडा नम्बर २ का अध्यक्ष श्याम कुमार चौधरी, भुपेन्द्र राई, हिरामाया राईलगायतकाले मन्तव्य व्यक्त गरे ।
जसपा नेपाल गाउँपालिका कार्यबाहक सचिब सूर्यमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत उपसचिव भिम बहादुर राईले गरे ।
कार्यक्रममा वडा अध्यक्षका प्रत्यासी उम्मेदवार श्याम कुमार चौधरी, सदस्यका उम्मेदवार सूर्यमान तामाङ र सन्जीमाया तामाङलाई सम्मान गरिएको थियो । जसपा नेपालका केन्द्रीय सचिव एवम् पूर्व अर्थमन्त्री साहले उनीहरुलाई फुलमाला र खदा ओढाएर सम्मान गरे ।
विस्तारित बैठकले गंगामाया राईको अध्यक्षतामा १५ सदस्यीय चौफाल- चाँदनी चौक टोलसमिति गठन गरेको नवगठित समितिका उपाध्यक्ष मान बहादुर तामाङले जानकारी दिए ।