न्यूज टुडे
राजविराज, २१ कात्तिक ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले संघीय शासन व्यवस्थाले देशको समग्र क्षेत्रको विकासले गति पाएको बताएका छन् । रामजानकी युवा क्लब मट्टीगढाद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ३ मट्टीगढामा बुधबार आयोजित नवौं रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री लेखीले देशमा संघीयता आएकै कारण आम नागरिकले परिबर्तनको महुसुस गर्न पाएको बताए । उनले पूर्वाधार, खेलकुद, शिक्षा तथा स्वास्थ्यसहितका समग्र क्षेत्रको अहिले भइरहेको विकास संघीयताकै देन भएको दावी गरे ।
मन्त्री लेखीले संघीय शासन व्यवस्था अनुसार प्रदेश र स्थानीय सरकारले अकल्पनीय विकास गरेको उल्लेख गरे । विकास र संघीयता विरोधीहरुले व्यवस्थालाई दोष दिदै विभिन्न भ्रम फैलाउँदै संघीयताको बदनाम गरेको उल्लेख गर्दै मन्त्री लेखीले संघीयताले राष्ट्रिय एकतालाई थप बलियो बनाएको जिकिर गरे ।
फुटबल लगायत खेलको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उनले खेलकुद क्षेत्रमा समेत प्रदेश सरकारले बजेट व्यवस्था गरेको जानकारी दिए ।
उनले खेलाडीहरु राष्ट्रको गहना भएको भन्दै प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडीहरुको उज्वल भविष्यको शुभकामना समेत व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरीले फुटबल लगायतका खेलकुदमा ठूलो बजेट खर्च भएपनि अपेक्षित उपलब्धि हाँसिल नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन ।
प्रतियोगिता संचालनसंगै स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिदै उनले बजेट खर्चको अनुपातमा देखीने परिणाम आउने गरी प्रतियोगिता संचालन गर्न आग्रह गरिन ।
रामजानकी युवा क्लबका अध्यक्ष भगवती प्रसाद चौधरीको अध्यक्षतामा आयोजित फुटबल प्रतियोगिता समापन समारोहमा पूर्व साँसद असर्फी सदा, गाउँपलिका अध्यक्ष दिनानाथ चौधरी,पूर्व गाउँपालिका उपाध्यक्ष मिना चौधरी, वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, वडा ४ का अध्यक्ष तेज नारायण यादव, वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष अरुण कुमार चौधरी, तत्कालीन हरिहरपुर गाविसका अध्यक्ष बद्री नारायण चौधरीलगायतका पत्रकार, विभिन्न पार्टीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरु, बुद्धिजीवी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
चर्चित कार्यक्रम प्रस्तोता प्रविण कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरीले गरे ।
प्रतियोगितामा राजविराज युवा क्लब राजविराज, श्री मयूरनी समाजसेवी युव क्लब उदयपुर, श्री एस्पोट क्लब एकेडेमी कुशाहा, श्री डाँफे युवा क्लब फत्तेपुर, श्री प्रोग्रेसिभ युवा क्लब ओद्राहा,श्री मुसहर्निया सामुदायी युवा क्लब मुसहर्नीया, श्री रामजानकी युवा क्लब मट्टीगढा,श्री राजाजी युवा क्लब मोहनपुर हरकट्टी गरि ८ वटा टिम सहभागी थिए ।