भन्सार छलेर ल्याउँदै गरेको कपडा लगायतका ठूलो परिमाणको समान सप्तरी प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय चलन गरेको छ ।
यसैगरी फरार रहेको अभियुक्तहरुलाई धमाधम पक्राउ गरी अदालतमा उपस्थित गराईएको छ । यही क्रममा प्रहरीको सक्रियता रही रहने हो भने थप अन्य तस्कर र फरार अभियुक्त पनि पक्राउ पर्न सक्छन् जुन प्रहरीका लागि सफलता नै मानिने छन् । तस्करी बढ्दा त्यसको प्रत्यक्ष प्रभाव राजस्व संकलनमा पर्दछ । राजविराज भन्सार कार्यालय तथा अन्य छोटी भन्सारमा राजस्व संकलन सुक्दै गएको भनी बताईन्छ । तर सप्तरीका बजारहरुमा पारी पट्टिबाट आयात गरिएका मालसामान छ्याप्छ्याप्ती भेटिएकै छन् । बाहिरबाट ल्याईएका सामान बजारमा प्रशस्त्र भेटिनु तथा अर्कोतर्फ भन्सारको राजस्व संकलन चाहीँ सन्तोषजनक नरहनु भनेको परस्पर विरोधी अवस्था हो । तस्करी बढेको कारणले नै जिल्लामा ब्यापार सुक्दै गएको ब्यापारीहरु व्यवसाय नचल्दा ऋणमा डुब्न थालेको भनी उद्योगी ब्यापारीहरुको प्रतिनिधिमूलक संस्था सप्तरी उद्योग बाणिज्य संघले चिन्ता व्यक्त गरेको छ । यही विषयलाई लिएर संघले स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गराईसकेको छ । यस्तो विषम अवस्थामा तस्करी नियन्त्रणमा सप्तरी प्रहरीले देखाएको सक्रियतालाई सकारात्मक त मान्नु पर्ने नै हुन्छ । तस्करी बाहेक जिल्लामा चोरीका घटना पनि निकै बढ्दै गएका छन् । जनतालाई सुरक्षाको अनुभूति गराउन चोरी नियन्त्रण तर्फ पनि सक्रियताको आवश्यकता छ ।
चोरीमा संलग्नलाई पक्रेर कारवाही चलाउने तथा सम्भावित चोरी नियन्त्रणका लागि रात्री गस्ती बढाउनाका साथै अन्य प्रभावकारी उपाय अपनाएर सुरक्षाको प्रत्याभूति दिन सके त्यो थप सफलता मानिनेछ ।