न्यूज टुडे
राजविराज, १५ कात्तिक।
सप्तरीको सदरमुकाम राजविराजस्थित राजरंगशाला मैदानमा बिहिबारदेखि राजविराज महोत्सव-२०८१ सुरू भएको छ । ड्रिम नेपाल युवा संघद्वारा आयोजित मेलाको बिहिबार एक समारोहको बीच राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गरेकी हुन् ।
मेला उद्घाटन समारोहमा जिल्ला समन्वय समिति सप्तरीका सभापति शिव नारायण साह, नेकपा एमालेका सचिव देवनाथ यादव, माओवादी केन्द्रका सप्तरी जिल्ला इन्चार्ज सुर्यनाथ यादव, जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादव, लोसपका जिल्ला अध्यक्ष सुनिल झा, राष्ट्रिय मुक्ति पार्टीका जिल्ला इन्चार्ज दिपेन्द्र चौधरी, जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र शर्मा , आम जनता पार्टीका केन्द्रीय सदस्य सुनिल राज दास, राजविराज नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरू तथा कार्यपालिकासदस्य लगायतका विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
राजविराज महोत्सव मेला मुल समारोह समितका संयोजक चितरञ्जन यादवको अध्यक्षतामा आयोजित कार्यक्रमा स्वागत मन्तव्य ड्रिम नेपाल युवा संघका सल्लाहकार जितेन्द्र कुमार गुप्ताले दिएका थिए ।
राजविराज नगरपालिकाको सहकार्य तथा ग्रिन नेपालको सह-आयोजनामा हुन लागेको उक्त मेला कात्तिक २५ गतेसम्म चल्ने मेला मुल समारोह समितिका संयोजक चितरञ्जन यादवले जानकारी दिए।
मेलमा ४० वटा स्टल, मिथिला पेन्टिङस, कृषि उपकरण, कृषि समाग्री रहने ड्रिम नेपालका सचिव मुस्तकिम आलमले बताए ।उनले स्थानीय उत्पादनलाई प्राथमिकता दिदै १० वटा स्टल नि:शुल्क व्यवस्था गरिएको जानकारी दिए ।
मेलामा विभिन्न किसिमको स्थानीय साँस्कृतिक प्रदर्शनी कार्यक्रमहरू आयोजन गरिने आयोजक संस्थाका अध्यक्ष कमलकिशोर साहले जानकारी दिए ।
मेलामा प्रवेश शुल्क पचास रूपैयाँ लाग्ने तर पाँच वर्षसम्मको बालबालिका, जेष्ठ नागरिकको लागि प्रवेश नि:शुल्क गरिएको उनले बताए।स्थानीय खेलाडीलाई पचास प्रतिशत र विद्यार्थीलाई तिस प्रतिशत छुटको व्यवस्था रहेको अध्यक्ष साहले बताए ।
मेला व्यवस्थापनको लागि ६० जना स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ । मेलाको निगरानीको लागि पन्ध्र वटा सिसिटिभी जडान गरिएको मेलाका संयोजक यादवले जानकारी दिए । मेलामा साठी लाख रूपैयाँ खर्चको अनुमान गरिएको आयोजकको भनाई छ।