२०८१ सालको दीपावली पर्व हाम्रा घर आँगनमा आईपुगेको छ । माता लक्ष्मीको उपासनाको साथसाथै गोवर्धन पूजा, भाईटीका समेत मनाईने तिहारकै क्रममा दीपोत्सवको पर्व दीपावलीको विशेष रौनक रहने गर्दछ ।
माता लक्ष्मीको उपासनाले धनधान्यको प्राप्ती हुने जनविश्वास छ । यस वर्षको दीपावलीमा सबैको घरमा उत्साह छ भन्न सकिने अवस्था रहेन । दशैंको मुखमै आएको अविरल वर्षा संगैको बाढी पहिरोले धेरैको घर उजाडेको छ, बाढी पहिरोमा कतिको हताहती समेत हुन पुगेको छ । बाढी पीडितहरु यति बेला पनि शोकमग्न त छँदैछन् । घर भत्किएका कारण विचल्लीमा समेत रहेका छन् । उनीहरु कसरी तंग्रिन सक्लान् भन्ने टड्कारो प्रश्न तेर्सिएको छ । बाढी पहिरोले ठाउँ–ठाउँमा क्षतविक्षत तुल्याएको सडकको पुननिर्माण बाँकी नै छ । पुनर्निर्माण नभएका कारणले ठाउँठाउँका बजार उजाडिएका छन् । रोजगारी खोसिएको छ । युवा शक्ति विदेशिने क्रम बढेको समयमा पनि आफ्नै मुलुकमा स्वरोजगार भएर बस्न चाहेका कतिपयको व्यवसाय नै चौपट हुने अवस्थामा पुगेको ।
माता लक्ष्मी आस्थाकी देवी पनि मानिएका कारण अहलिे उजाडिएको बस्ती फेरि पनि गुल्जार बनोस् अहिले शोक र पीडामा परेकाहरुलाई विस्तारै तंग्रिने ऊर्जा प्राप्त होस्, सबै नेपालीका घर आंगनमा सुख, समृद्धि हुन सकोस् । मुलुक निर्माणका लागि सबैका मनमा अठोट र ऊर्जाको प्राप्ती होस् । महान पर्व दीपावलीको शुभ अवसरमा हाम्रा आदरणीय पाठक, शुभेच्छुक, मार्गदर्शक सहयोगी सबैमा हार्दिक मंगलमय शुभकामना । शुभ दीपावली !