• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जन्मदर्ता बन्न नसक्दाको पीडा, जसलाई आवश्यक उहीँ सुविधाबाट वञ्चित

जन्मदर्ता बन्न नसक्दाको पीडा, जसलाई आवश्यक उहीँ सुविधाबाट वञ्चित
बृजमान तामाङ
राजविराज, १४ कात्तिक ।
सप्तरीको अग्नीसाईर कुष्णासवरन गाउँपालिका वडा नम्बर २ की दिलमाया तामाङ ४५ वर्ष पुगिसक्दा पनि देशको नागरिक बन्न सकेकी छैनन् ।  नागरिक बन्न नपाउँदा उनको परिवार नै  बिचल्लीमा छन् ।
 उदयपुर कटारी नगरपालिका वडा नम्बर ४ स्थायी घर भइ हाल अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चौफालमा बसोबास गर्दै आएका धन बहादुर घिसिङसंग २५ बर्ष अघि दिलमायाको  सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।  विवाहको २ बर्षपछि जेठी छोरीको जन्म भइ परिवार सहित ऊनी अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २  स्थित चौफालमै बस्दै आएकी छिन् ।
धनबहादुरको बुवाको मृत्यु भएपछि उनकी आमाले दोश्रो विवाह गरेकी थिइन् ।  आमाले धनबहादुरलाई समेत काखी च्यापी उदयपुरबाट २०३३ सालमा सप्तरी छिरेकी थिइन् । दोश्रो ससुरा  हर्क बहादुर तामाङ तीन पुस्तादेखि त्यहाँ बसोबास गर्दै आएपनि उनको समेत मृत्यु भएपछि  दिलमायाको नागरिकता बन्नमा थप समस्या भयो । 
जेठो ससुराको उदयपुरको नागरिकता भएकाले पति ४८ बर्षिय धन बहादुर घिसिङले २०६३ सालमै उदयपुरबाट नागरिकता लिएका छन् । उदयपुरबाटै नागरिकता बनाउने पटकपटकको प्रयास विफल भएपछि देशको नागरिक नबनी मरिन्छ र छोराछोरीको विजोग हुन्छ भन्ने चिन्ताले उनलाई यतिबेला सताई राखेको छ ।
सम्पत्तिको नाममा केही छैन् । अर्काको १ धुर जग्गामा एउटा झुप्रो ठड्याएर सबै परिवार त्यहीँ झुप्रोमा गुजारा गर्दै आएका छन् ।उनको परिवारले सुत्ने,बस्ने, खाना पकाउनका लागि बटुलेर राखेको दाउरा राख्ने सबै काम त्यहीँ झुप्रोमा हुन्छ । झुप्रोको छानाको प्वालबाट बाहिरको घाम भित्र पस्छ।पानी चुहिन्छ । पानी परेको दिन परिवारै रातभर जाग्राम बसेर बिताउनुपर्ने बाध्यता रहेको दिलमायाको दुखेसो छ ।
श्रीमान श्रीमती नै मजदुरी गर्छन् ।  अर्काको छोराछोरीलाई पढेको देख्दा आफ्नो छोराछोरीलाई  पनि पढाएर ठूलो मान्छे बनाउने धोको दिलमाया दम्पतिको रहेको छ ।
जेठी र कान्छी दुवै छोरीलाई ४-५ कक्षासम्म पढाए पनि जन्मदर्ता नभई नहुने भएकोले बिद्यालयबाट छोरीहरू बाध्य भएर निस्कनु परेको थियो । आफ्नो नागरिकता र छोराछोरीको जन्मदर्ता नभएकै कारण आफ्नो र छ‍ोरीहरूको सपना हावाले उडाए झै उडाएको दिलमायाको भनाई छ । 
छोराछोरीको जन्म दर्ताको लागि पटकपटक पुर्खेली गाउँ जाँदा विभिन्न बहाना गरेर छोराछोरीको जन्मदर्ता नबनाई दिएको धनबहादुरको गुनासो छ ।  त्यहाँबाट बसाइसराई गराई दिनुभन्दा समेत नमानेपछि जेठी छोरी २३ बर्षिय मिना कुमारी घिसिङ, कान्छी छोरी २० बर्षिय मनिता कुमारी घिसिङ र छोरा १५ बर्षिय लाक्पादोर्जे घिसिङ जन्म दर्ता र नागरिकताबाट बञ्चित भएको उनले दुखेसो सुनाइन् । 
जन्ममदर्ता नभएर बिद्यालय छोड्नु परेको दिन कान्छी छोरी मनिता धुरूधुरू रोएको दृश्य सम्झेर आमा दिलमायाले बरर आँसु झारिन् ।उनले भनिन्,´बिद्यालय जानबाट वञ्चित भएपछि दुबै छोरीको विवाह गरिदिन बाध्य भएँ।
कान्छी छोरी मनितालाई आफ्नो खुट्टामा उभिन सक्ने नभई विवाह गर्नुहुँदैन भन्ने थाहा थियो । जन्मदर्ता नभएपछि उनी कक्षा ४ मा पढ्दै गर्दा  विद्यालयबाट निकालिईन । पढ्न नपाएपछि घरमा त्यसै बस्नुपर्दा, खान,लगाउन, बस्न समेत समस्या भएपछि उनलाई सिन्धुपाल्चोकको केटासंग २०७९ बैशाखमा विवाह गरेर पठाएको छिमेकी टिक बहादुर तामाङले बताए ।
जेठी छोरी मिना कुमारी घिसिङले सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित धरमपुरमा २०७७ सालमा विवाह गरी उनको २ बर्षकी छोरी छिन् । जन्म दर्ता नभएकै कारण उनी पनि नागरिकताबाट बञ्चित भएकी छिन् । 
“विवाह गरेर पनि  छोरीहरूलाई सुख छैन्,  दिलमायाले  भनिन् , जन्म दर्ता नभएकोले उनी माथी पीडामा पीडा थपिएको छ ।”
 तीन जना सन्तान भएपनि देशको नागरिक बनाउन नसकेपछि आफ्नो  जीवनमा बज्रपात भए जस्तै अनुभुति हुदै आएको उनी बताउँछिन् ।
छोरा लाक्पादोर्जे कक्षा -४ सम्म स्थानीय विद्यालयमा पढे । बिद्यालय गयो की शिक्षकहरूले जन्म दर्ता मागेपछि कचकच सुन्नुभन्दा बिद्यालय जान छोडेर यातायात मजदुरको रुपमा काम गरिरहेको आमा दिलमाया बताउँछिन् ।
सोही ठाउँकी ७८ वर्षिया  नैना देवी राईले भनिन,´हामी यस बस्तीमा सबै बिपन्न छौं तर दिलमाया हामी सबैभन्दा विपन्न र पीडित छिन् । उनको छोराको जन्मदर्ता नभएकोले बिद्यालयबाट निकालिएको थियोे । “गाउँकै एकजना पत्रकार बाबुले  विद्यालयमा गएर भनसुन गरेपछि फेरी बल्लतल्ल बिद्यालय जान दिन थालेको थियो”उनले भनिन्,”जन्म दर्ता नभएकै कारण उनी विद्यालयबाट निकालिए ।”
दिलमायाको नागरिकता र छोराछोरीको जन्मदर्ता  नभएको कारण उनको परिवार राज्यले दिने हरेक सेवा सुबिधाबाट बन्चित रहेको उनी बताउँछिन् ।
 सोही ठाउँकी ५५ वर्षिया चिनीमाया तामाङले अर्काको जग्गामा सानो झुप्रोमा गुजारा गर्दै आएकोले जग्गाधनी आएपछि उठिबास हुने डरले घिसिङ परिवार कयौं दिन अर्काको घरमा लुकेर बस्नुपर्ने बाध्यता रहेको बताईन्।
“बर्षा महिनामा त उनीहरूको परिवारको विजोग नै हुन्छ ।छानामा ठूलो प्वाल छ, उनले भनिन् , “पानी परेपछि दाउरा, लुगाफाटो सबै भिज्ने गरेकोले भोकभोकै बस्नुपर्ने बाध्यता रहेको छ ।” 
टोलमै सबभन्दा बिपन्न भएपनि विभिन्न विपदको बेला पाईने राहत, विपन्नका लागि आउने पैसा,भूमिहिनका लागि नेपाल सरकारले दिने घरजग्गा पाउनु पर्ने पहिलो प्राथमिकताको व्यक्ति टोलमै उनीहरू नै भएपनि  जन्मदर्ता,नागरिकता नहुदा उनीहरू नै सबै सुविधाबाट वञ्चित हुनुपर्ने बाध्यता  रहेको चिनीमाया बताउछिन्  ।
वडा सदस्य श्रीकुमारी चौधरीले भनिन,´यिनीहरूको   जन्मदर्ता, नागरिकता भएको भए यस्तो झुप्रोमा बसेर यति दु:ख गर्नु पर्दैनथ्यो ।  नेपाल सरकारले सुकुम्बासीको लागि दिने घरजग्गा अहिलेसम्म पाईसक्थे र आफ्नै घर हुन्यो ।”
वडामा आउने बेरोजगारी कार्यक्रम होस वा जुनसुकै राहत पाउने सबैभन्दा अगाडि उनीहरूकै नाम हुन्छ । उनीहरुको परिस्थिति हेरेर उनकै नाम लेखाउन गाउँले नै अगाडि भएपनि अहिलेसम्म उनीहरू देशको नागरिक बन्न नसकेकोले उनीहरूको परिवार सबै सुविधाबाट बन्चित हुँदै आएको स्थानीय होम बहादुर राईको भनाई छ ।
दुईवटी छोरीहरू मात्रै भएकोले धेरै भाकल गरेर   भगवानसंग उसको लागि छोरा माँगेर ल्याउन सक्यौं तर हामी सबैले चाहँदा चाहँदै उसलाई अहिलेसम्म देशको नागरिक बनाउन नसक्दा दु:ख लागेको स्थानीय महिलाहरू बताउछन् ।
यहि ठाउँमा विवाह भएपछि पनि यहि ठाउँमा बस्दै आएकोले यहीँबाट नागरिकता बनाईदिन हामी टोलवासीले वडा अध्यक्ष  पशुपति प्रसाद चौधरीसंग पटकपटक  आग्रह गरेपनि उनले कुनै वास्ता नगरेको स्थानीयको आरोप छ ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरीले  दिलमायाको श्रीमान् धनबहादुरले उदयपुरबाट नागरिकता  बनाएको र उनले जन्मेको ठाउँबाट बसाई सराई नल्याएकोले दिलमायाको नागरिकता र उनको छोराछोरीको जन्मदर्ता यहाँबाट बन्न नसकेको बताए । त्यहाँबाट लिन सकेमात्र संम्भव रहेको अन्यथा उनको नागरिकता र छोराछोरीको जन्मदर्ता बनाउन यहाँ नमिल्ने बताए । दिलमायाले आफ्नो माईतीबाट नागरिकता प्राप्त गर्न सक्ने अध्यक्ष चौधरीको भनाइ छ । त्यसको लागि आफुले यस बिषयमा पञ्जिकरण बिभागसंग जानकारी लिएर प्रक्रिया थाल्ने चौधरीले बताए ।
 दिलमायाका काका ६५ वर्षिय  खडग बहादुर तामाङले हामी श्रीमान श्रीमती र हाम्रो छिमेकीले पटक पटक भतिजीको नागरिकता बनाउन निकै प्रयास गरेपनि नागरिकता र  नातिनातिनाको  जन्मदर्ता बन्न नसक्दा भतिजीको परिवार एकदमै पीडामा रहेको बताए ।
देशमा जन्मेको कुनैपनि नागरिक जन्मदर्ताबाट बन्चित हुनुहुँदैन् । मुलुकमा जन्मेपछि जन्मदर्ता र जन्मको आधारमा नागरिकता पाउँने नागरिकको मौलिक हक   भित्र पर्दछ ।
राष्ट्रिय परिचयपत्र तथा नेपाल पञ्जीकरण विभागमा लामो समय काम गरेका पञ्जिकरण अधिकारी राजीव राईले नेपालमा जन्म भई नेपालमा बसोबास गर्ने कुनैपनि व्यक्ति जन्मदर्ता र नागरिकताबाट वञ्चित हुन नहुने बताएका छन् ।
उनका अनुसार परिवारका सदस्यबाट सनाखत हुन नसकेका व्यक्तीले जन्म दर्ताका लागि सम्बन्धित वडामा र  नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने र निवेदनको आधारमा छानवीन गरेर जन्मदर्ता र  नागरिकता दिने प्रावधान रहेको छ ।
मुलुकी संहिता ऐन २०७४ को उपदफा ४ मा कुनैपनि व्यक्तिले दफा १ बमोजिम प्रमाणपत्र पेश गर्न नसकेमा वा दफा ३ (क) बमोजिम परिवारको सदस्यबाट सनाखत हुन नसकेमा तोकिएको अधिकारीले स्थलगत सरजमिन गरि निवेदकलाई चिनिने सोही वडामा बसोबास गर्ने कम्तीमा दुई जना नेपाली नागरिकताको प्रमाणपत्र लिईसकेको व्यक्ति र सम्बन्धित स्थानीय तहको कम्तीमा १ जना पदाधिकारी वा सदस्यले सरजमिन स्थलमा नै गरेको सनाखत र सम्बन्धित वडा समितिले गरेको सिफारिसको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सक्ने व्यवस्था छ।

जन्म,मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऎन२०३३ अनुसार परिवारको उमेर पुगेका कोहिपनि व्यक्ति सुचक बस्न सक्ने तथा बुवा-आमाको नागरिकता नभए परिवारको आफन्तबाट अन्य सदस्य सुचक बसेर जन्मदर्ता गराउने प्रावधान छ ।