न्यूज टुडे
राजविराज, १२ कात्तिक ।
भारतबाट भन्सार छली ल्याउँदै गरेको २१ लाखबढीको कपडा र कारसहित एकजनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । सप्तरी खडक नगरपालिका वडा नम्बर ८ विसनपुर टोल बस्ने अन्दाजी वर्ष २४ को सनाबुललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आइतबार २ बजेको समयमा इलाका प्रहरी कार्यालय बोदेबर्साईन सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई बोदेबर्साईन न.पा. वडा नं. ३ गौरा थान अगाडी सडक खण्ड स्थितमा भारतको लौकही तर्फबाट सप्तरीको राजबिराज तर्फ आउदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी गराएका छन् ।
प्र.३-०१-०२३ च ८०२५ नम्बर सेन्टोज कम्पनीको चारचके गाडी(कार) चेकजाँच गर्दा उक्त गाडीमा भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको २१ लाख १३ हजार १ सय रुपैया बराबरको कपडा र गाडी(कार) बरामद गरेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनलाई प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको डिएसपी बस्नेत बताए ।
सप्तरीमा प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा र डिएसपी बस्नेत आएपछि विभिन्न तस्करीका सामानसहित संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन् ।