• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका–५ स्थित छपकीमा मंगलबार राती ४ घरमा चोरी भएको छ । स्थानीय प्रमोद मेहता, चन्द्रदेव राय, इन्द्रदेव शर्मा र जगदीश शर्माको घरमा एकै रात भएको चोरीमा १० लाख रु. बराबरको धनमाल चोरहरुले लिएर गएको पीडितहरुले जानकारी दिएका छन् । उसै पनि केही समय यता सप्तरीमा चोरीका घटना बढ्न थालेका छन् ।
व्यक्तिको घरमा मात्रै होईन, मन्दिर, विद्यालय लगायतका सार्वजनिक स्थल समेतबाट मालसामान चोरी हुन थालेका छन् । अहिले दशैंको माहौल छ । यसपछि तिहार, नेपाल सम्वत्, छठ लगायतका पर्वहरु आउने क्रममा छन् । यस्तो समयमा मठमन्दिर, बैंक तथा वित्तीय संस्था, सार्वजनिक यातायात तथा साधन देखि बजारमा समेत सर्वसाधारणको भिडभाड बढ्ने भएका कारण चोरी लगायतका आपराधिक घटनाको सम्भावना बढ्न सक्दछ । एउटै टोलका चार–चार घरमा चोरी हुनु भनेको पक्कै पनि चिन्ताको विषय हो । चोरी बढ्यो, चोर पक्राउ परेनन् भने सर्वसाधारणमा असुरक्षाको त्रास पनि बढ्ने हुन्छ । चोरी नियन्त्रण हुन सकेन भने प्रहरी प्रशासनको निम्त्ति यो चुनौतिकै विषय बन्ने छ । प्रहरीको सफलताका लागि पनि अपराधमा न्यूनीकरण हुन आवश्यक मानिन्छ । मुलुकमा प्राकृतिक प्रकोपले दशैंको मुखमै ठूलो क्षति भएको छ । बाटोघाटो अवरुद्ध भएका कारणले आवागमन असहज बनिरहेको छ । ठाउँ ठाउँमा सयौं घर बाढी पहिरोले नष्ट पारिदिएको छ भने ठूलो संख्यामा हताहतीले शोकको माहौल छ ।
प्रकोपका कारणले प्रत्यक्ष परोक्ष सबैलाई प्रभावित तुल्याएकै छ । यसै समयमा यसपालिको दशैंको आगमन भएको छ । असहज अवस्थामा पनि सुरक्षित रुपले दशैं मनाउन पाईयोस् भन्नाका लागि चाडवाड लक्षित सुरक्षा योजनाका साथ सुरक्षा निकायले काम गर्न सके त्यो अझै उपलब्धिमूलक बन्ने छ । सुरक्षित वातावरणमा चाडपर्व मनाउन पाईयोस् भन्नाका लागि सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउनै पर्ने हुन्छ ।