न्यूज टुडे
राजविराज, १६ असोज ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ४ की कम्प्युटर अपरेटर ललिता चौधरीले दुर्व्यवहार गरेको एक सेवाग्राहीले गुनासो गरेका छन् । सेवा लिन वडा कार्यालय जाँदा कार्यालय भित्रै चौधरीले दुर्व्यवहार गरेको स्थानीय चन्दन कुमार यादवले गुनासो गरेका हुन् ।
दाजुको मृत्यु दर्ता र भतिजाको जन्मदर्ताको प्रतिलिपी बनाउन वडा कार्यालय जाँदा आफुमाथि दुर्व्यवहार भएको उनले बताए । उनले हप्तौंदेखि स्वर्गीय दाजु लखन यादवको मृत्यु दर्ता र भतिजा रामपृत कुमार यादवको जन्मदर्ताको प्रतिलिपी बनाउन जाँदा आजभोलि भन्दै आलटाल गरी खाली हात फर्काएपछी कारण सोधपुछ गर्दा उल्टो रुखो व्यवहार देखाएको गुनासो गरे ।
यादवले काम छिटो गरिदिन आग्रह गर्दा प्रहरी बोलाएर डरत्रास देखाएको आरोप लगाए । सेवा प्रवाहमा भएको ढिलासुस्तीको विषयमा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र वडा सचिबलाई जानकारी गराउँदा समेत सुनुवाइ नभएको उनको गुनासो छ ।
हप्तौं दिनको प्रयासपछि मृत्यु दर्ता गरेपनि वडा कार्यालयको छाप विनै मृत्यु दर्ताको प्रमाणपत्र दिएको उनले बताए ।
कम्प्युटर अपरेटर चौधरीले यादवले असभ्य व्यवहार देखाउन थालेपछि प्रहरीलाई खबर गरेको स्वीकार गरिन । आफुमाथि लगाएको आरोप निरधार रहेको दावी गर्दै उनले यादवले फोटोकपी गर्न भनी नागरिकता फ्याकेर दिएपछि हुदैन भन्दा यस्तो झुठो आरोप लगाएको बताइन् ।
वडा सचिब रामआशिष यादवले वडा कार्यालयबाट सेवा प्रवाहमा कुनैपनि बहानामा ढिलासुस्ती नहुने बताए । उनले यादवले लगाएको आरोपमा सत्यता नरहेको जिकिर गरे ।
गत भदौ २६ गते चन्दन का दाजु लखन यादवको झुन्डिएर मृत्यु भएको थियो ।