• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको बाढी र पहिरोले सडक मार्ग तहसनहस तुल्याएपछि यतिबेला देशभरि नै जनताले अनेकन थप समस्या झेल्नु परिरहेको छ । प्रकोपले हजारौं परिवार प्रभावित बनेका छन् ।
मुलुक भरि अस्तव्यस्त अवस्था छ । सयौंले ज्यान गुमाएको बस्ती नै सखाप बनेका कारण दशैंका मुखमा धेरैको बिचल्ली छ । यस्तो प्रतिकूल र शोकाकूल अवस्थामा सार्वजनिक सवारी साधनले मनपर्दी भाडा असुल्न थालेको भन्दै चौतर्फी गुनासो उठ्न थालेको छ । सडक यातायात अवरुद्ध हुँदा हवाई यात्रामा यात्रुको चाप बढ्नेको मौका पारी भाडा बढाएको भन्दै बढी मात्रामा विरोध हुने गरेको छ । यसैगरी सडक सुचारु भएका कुनै कुनै रुटमा बसभाडा पनि बढाएर लिन थालेको भन्ने जनगुनासो छ । मुलुक भरि शोकको माहौल रहेको यस्तो समयमा सरकारले तीन दिन ‘राष्ट्रिय शोक’ नै घोषणा गरेको छ । सार्वजनिक विदा नहुने भएपनि यस अवधिभर सरकारी कार्यालयहरुको झण्डा आधा झुकाईने जानकारी दिईएको छ । शोकको यस्तो माहौलमा पीडामा परेकाहरुको सहयोगमा जुट्नु पर्नेमा मजबुरी वा बाध्यताको फाईदा उठाउँदै जथाभावी भाडा बढाउनु भनेको अमावनीय कार्य नै हो । सकेसम्म सहुलियतमा सेवा गर्नु पर्ने यस्तो विपद्मा जसरी भएपनि कमाउने नियत राखिन्छ भने त्यो सरासर अनुचित नै मानिन्छ । भत्केका संरचनाको पुननिर्माण तथा मर्मत कार्यमा सरकार जुटेको छ । पीडितको लागि राहत तथा उद्धारको जिम्मेवारी पनि छ ।
यस्तो प्रतिकूलतामा आ–आफ्नो क्षेत्रबाट सबैले जुटेर विपद्बाट पार पाउने लक्षकासाथ अघि बढ्नु पर्ने अहिलेको आवश्यकता हो । मजबुरीको फाईदा उठाउने नियतलाई किमार्थ उचित भन्न सकिन्न ।