न्यूज टुडे
राजविराज, १५ असोज ।
सप्तरीको महादेवा गाउँपालिका १ स्थित रहेको सोनरा राष्ट्रिय आधारभुत विद्यालयले गाउँपालिकाको निर्देशनलाई अवज्ञा गर्दै कक्षा संचालन गरेको पाइएको छ । गाउँपालिकाले विहानी कक्षा संचालन गर्न निर्देशन दिएपछि उक्त विद्यालयले निर्देशनको ठाडो उलंघन गरी दिउँसोको कक्षा संचालन गरेको हो ।
शिक्षा क्षेत्र हेर्ने जिम्मेवारी स्थानीय तहको भएपनि स्थानीय तहले दिएको निर्देशनलाई उलंघन गरी विद्यालयहरुले मनपर्दी गर्दा समेत पालिका निरीह रहदै अएका छन् ।
विद्यालयमा न्यूज टुडेको टोली पुगेर सबै विद्यालयमा विहानी कक्षा संचालन भएको तथा यस विद्यालय दिउँसो संचालन भएको भनी गरेको प्रश्नमा प्रधानाध्यापक वसन्त चौधरीले विहानी कक्षा बारे कसैले जानकारी नगराएको बताए ।
विद्यालयमा न्यून विद्यार्थी उपस्थित भएको, शिक्षक कक्षकोठामा नभेटिएको, खाजा कार्यक्रम संचालनमा नल्याएको, खानेपानी सौचालयको अभाव, भौतिक पुर्वाधार लथालिङ्ग,खेलमैदान अभाव रहेको जस्ता समस्या पाइएको थियो ।
महादेवा गाउँपलिकाका शिक्षा शाखा प्रमुख देव कुमार यादवले गाउँपालिका अन्तर्गतका सम्पुर्ण विद्यालयमा विहानी कक्षा संचालन गर्न निर्देशन दिएको भन्दै सोनरा आधारभुत विद्यालयमा दिउँसो कक्षा संचालन गरेको बारे आफुलाई थाहा नभएको बताए । विद्यालयले गाउँपालिकाको निर्देशनलाई अटेर गरेको जानकारी गराएकोमा धन्यवाद दिदै उनले अटेरी विद्यालयहरुलाई कानुन बमोजिमको कारबाही हुने बताए ।
उनले विद्यालय र विद्यालय व्यवस्थापन समितिले निर्णय नपठाएकोले सोनरामा रकम नपठाएको कारण विद्यार्थीहरु खाजाबाट बन्चित भएको जानकारी दिए ।