• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चार महिनापछि राजविराजको नगरसभा, धमाधम वडा भेला

चार महिनापछि राजविराजको नगरसभा, धमाधम वडा भेला
न्यूज टुडे
राजविराज, १५ असोज । 
समान्यता असार १० गते गरिसक्नुपर्ने नगरसभा चार महिनापछि राजविराज नगरपालिकाले मंगलबार नगरसभा गर्ने तयारी गरेको छ । जनप्रतिनिधि वीच सहमति नजुट्नु तथा आन्तरिक तयारीको कमीले चार महिना ढिलो नगरसभा हुने भएको हो । 
सबै वडामा भेला गरी योजना संकलन गरी असार १० गते  भित्र  विधिवत नगरसभा गर्नुपर्ने प्रावधान भएपनि राजविराज नगरपालिकामा अझै वडा भेला सम्पन्न हुन बाँकी रहेको जनप्रतिनिधि बताउँछन् । 
सोह्रवटा वडा रहेको राजविराज नगरपालिकाले मंगलबार नगरसभाको तयारी गरेपछि मंगलबार विहान औपचारिकता पूरा गर्नेतर्फ धमाधम वडा भेला गरिरहेको स्थानीयहरुले बताएका छन् ।  हतारमा गरिएको भेलाले वडाको प्राथमिकतामा परेको अति आवश्यक योजनालाई सम्बोधन गर्न नसक्ने स्थानीयको भनाइ छ । 
जनप्रतिनिधि र कर्मचारीले दशैको तलबभत्ता बुझ्नकै लागी औचित्यहीन नगरसभा गर्न खोजिएको स्थानीयको आरोप छ ।  
राजविराज नगरपालिकाका प्रबक्ता जय नारायण मण्डलले पुर्व तयारी अनुसार नै नगरसभा गर्न लागिएको दावी गरे । नगरसभाको सबै तयारी पूरा भएको र वडा भेलाहरु समेत जारी रहेको उनले जानकारी दिए । 
एकहप्ता अगाडि नै वडा भेलाका लागि पत्राचार गरिएपनि प्रतिकुल मौसमको कारण हुन नसक्दा सबै वडाले  धमाधम भेला आयोजना गरीरहेको नगर प्रबक्ता मण्डलले बताए । 
कार्यपालिकाबाट निर्णय गरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ्गले नगरसभा गर्न तयारी गरिरहेकै समयमा उहाको सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साह हजिर हुनसाथ नगर परिषद गर्ने उदेश्यले नै वडा भेलाका लागि सबैवडालाई पत्र पठाएको मण्डलले जानकारी दिए ।